धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २६ गते । सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी जिल्लाबाट तीनवटा राजनीतिक दलका राष्ट्रिय अध्यक्ष पराजित भएका छन् । पराजित हुने तीनै जना मधेसकेन्द्रित दलका अध्यक्ष हुनुहुन्छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव निर्वाचनमा पराजित हुनुभएको हो ।
सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका जनमत पार्टीका अध्यक्ष राउत ९ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुनुभएको छ । सोही क्षेत्रमा जनअधिकार पार्टीका अध्यक्ष शरतसिंह यादवले ८१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित हुनुभएको छ भने जसपा नेपालका उमेशकुमार यादव १४ हजार २६३ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।
यसैगरी सप्तरी क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पराजित हुनुभएको छ । उक्त क्षेत्रमा रास्वपाका डा. अमरकान्त चौधरी ३२ हजार ८७५ मत ल्याउँदै विजयी हुनुभयो भने यादव १५ हजार २३९ मतमा सीमित हुनुभयो । २०७९ को निर्वाचनमा क्षेत्र नं. २ बाट भारी मतान्तरले विजयी हुनुभएका राउत यस पटक आफैँ पराजित हुनुभएको हो ।
शम्भुनाथ नगरपालिकाका मतदाता भोला चौधरी मधेस प्रदेश सरकारको नेतृत्व लामो समयसम्म सम्हालेको र पटक–पटक सङ्घीय सरकारमा सहभागी भए पनि जनअपेक्षा अनुरूप कार्यसम्पादन गर्न नसक्दा मतदाताले मधेसवादी दलका नेताहरूलाई पराजित गरेको बताउनुहुन्छ । अर्का मतदाता सबिन यादव नेतृत्व पाएपछि जनसरोकारभन्दा पनि नातावाद र कमिसनतन्त्रमा लागेका कारण यस्तो परिणाम आएको आरोप लगाउनुहुन्छ ।
महेदेवाका मतदाता सुकदेव मण्डल यस पटक 'जेनजी' आन्दोलनको उपज रास्वपाको लहरले स्थापित नेताहरू पराजित भएको तर्क गर्नुहुन्छ । "पुराना दल र नेताप्रतिको निराशाका कारण नयाँ शक्तिले मत पायो," उहाँले भन्नुभयो।
जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले चुनावको जित–हार राजनीतिक यात्राको एउटा चरण मात्र भएको र मुद्दा एवं विचारको आन्दोलन कहिल्यै नहार्ने बताउनुभयो । यस्तै जनमत पार्टीका अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत आफू सांसद वा मन्त्री पदका लागि मात्र राजनीतिमा नआएको प्रतिक्रिया दिनुभएको छ ।
जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादवले रास्वपाको नेतृत्वमा बन्ने सम्भावित सरकारलाई सङ्घीयता, समावेशिता र समानुपातिक प्रणाली जस्ता प्राप्त उपलब्धिका विरुद्ध नजान आग्रह गर्नुभयो । रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएपछि मधेसी जनताले ठुलो समर्थन दिएको स्मरण गराउँदै उहाँले सङ्घीयता बलियो बनाउने प्रतिबद्धता पूरा हुनेमा आशा व्यक्त गर्नुभयो ।
मधेसवादी दलका अध्यक्षहरू मात्र नभई उहाँहरूले नेतृत्व गरेको पार्टीबाट प्रत्यक्षतर्फ अन्य उम्मेदवार पनि निर्वाचित हुन सकेका छैनन् । यस नतिजाले ती दलहरूलाई आफ्ना नीति र कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने सन्देश दिएको छ ।