• २६ फागुन २०८२, मङ्गलबार

हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु

blog

न्युयोर्क, फागुन २६ गते । हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ । संस्थाका अनुसार सुरक्षा कारबाहीका नाममा गरिएको ‘ठूलो मात्रामा घातक’ ड्रोन प्रयोगले बालबालिकासहित निर्दोष नागरिकलाई पनि गम्भीर जोखिममा पारेको छ ।

ह्युमन राइट्स वाचले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म सञ्चालन गरिएका १४१ वटा ड्रोन अपरेसनका क्रममा कम्तीमा एक हजार २४३ जनाको मृत्यु भएको छ । ती मृतक मध्ये कम्तीमा ४३ जना वयस्क आपराधिक गिरोहका सदस्य नभएको स्पष्ट देखिएको छ भने १७ जना बालबालिका पनि रहेका छन् ।

त्यसै गरी यी आक्रमणमा ७३८ जना घाइते भएका छन् । घाइते मध्ये कम्तीमा ४९ जना आपराधिक समूहसँग सम्बन्धित नभएका व्यक्ति रहेको उल्लेख गरिएको छ । हाइटीमा पछिल्ला वर्षमा गिरोह हिंसा तीव्र रूपमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आपराधिक गिरोहले अहिले राजधानी पोर्ट-अ-प्रिन्सको करिब ९० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् ।

सन् २०२५ मा मात्रै गिरोह हिंसा सम्बन्धी घटनामा झन्डै छ हजार जनाको ज्यान गएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको छ । क्यारिबियन क्षेत्रमा पर्ने हाइटी अमेरिकाको सबैभन्दा गरिब देश मानिन्छ । यहाँ वर्षौदेखि हत्या, बलात्कार र अपहरणका घटनासहितको घातक गिरोह हिंसा व्यापक रूपमा फैलिएको छ ।

लगातारको हिंसाका कारण करिब १४ लाख मानिस अर्थात् कुल जनसङ्ख्याको करिब १० प्रतिशत विस्थापित भएका छन् । त्यसै गरी हाइटीका झन्डै आधा नागरिक अहिले गम्भीर खाद्य असुरक्षाबाट प्रभावित भएको अनुमान गरिएको छ । यसमा पाँच वर्षमुनिका करिब १२ लाख बालबालिका पनि समावेश छन् ।

ह्युमन राइट्स वाचका अमेरिका सम्बन्धी निर्देशक जुआनिता गोबर्टसले यी आक्रमणले निर्दोष मानिसलाई ठूलो क्षति पुर्याइरहेको बताउनुभयो । उहाँका अनुसार यी घातक ड्रोन अपरेसनमा धेरै बालबालिकासहित दर्जनौँ सर्वसाधारण नागरिक मारिएका र घाइते भएका छन् ।

उहाँले हाइटीका अधिकारीलाई सुरक्षा बल र उनीहरूसँग काम गर्ने निजी ठेकेदारको गतिविधिलाई तत्काल नियन्त्रणमा लिन आग्रह गर्नुभयो । “थप बालबालिकाको ज्यान जानुअघि हाइटीका अधिकारीले आफ्नो सुरक्षा बल र निजी ठेकेदारलाई तुरुन्तै नियन्त्रण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

हाइटीमा रहेको संयुक्त राष्ट्रसङ्घको एकीकृत कार्यालयका अनुसार यी ड्रोन आक्रमण प्रधानमन्त्री एलिक्स डिडियर फिल्स-एमेले गठन गर्नुभएको टास्क फोर्सद्वारा सञ्चालन गरिएको हो । उक्त टास्क फोर्सलाई निजी सैन्य कम्पनी भेक्टस ग्लोबलले परिचालन सहयोग उपलब्ध गराइरहेको बताइएको छ ।

ह्युमन राइट्स वाचका अनुसार हाइटीका लागि वासिङ्टनस्थित राजदूतले अमेरिकी विदेश मन्त्रालयले भेक्टस ग्लोबललाई हाइटीमा रक्षा सेवा निर्यात गर्न अनुमति दिने इजाजतपत्र जारी गरेको पुष्टि गर्नु भएको छ । रासस/एएफपी