• २६ फागुन २०८२, मङ्गलबार

लमजुङमा समानुपातिकतर्फ रास्वपालाई दोब्बर मत

blog

लमजुङमा मतगणनाका क्रममा राजनीतिक दलले प्राप्त गरेको मतको सङ्ग्रह । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन २७ गते । लमजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य राजनीतिक दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मत परिणाममा रास्वपा ३४ हजार ५७५ मतसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १५ हजार ८४९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस १५ हजार ६०२ मतसहित तेस्रो स्थानमा सीमित भएको छ । प्रत्यक्षतर्फ पनि रास्वपाका उम्मेदवार धर्मराज केसी दोब्बर बढी मतान्तरले विजयी हुनुभएको थियो । प्रत्यक्षमा पनि एमाले र कांग्रेसका उम्मेदवार क्रमशः दोस्रो र तेस्रो स्थानमा रहनुभएको थियो ।

लमजुङमा कुल १ लाख ३८ हजार २५२ मतदाता रहेकोमा ७६ हजार २८९ मत खसेको थियो । खसेको मतमध्ये ७४ हजार ३३७ मत सदर र १ हजार ९५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जानकारी दिनुभयो ।

अन्य दलहरूमध्ये नेकपाले ३ हजार २६८ र राप्रपाले १ हजार ६०८ मत प्राप्त गरेका छन् । यस्तै श्रम संस्कृति पार्टीले १ हजार १३७, राष्ट्रिय परिवर्तन पार्टीले ५९५, मङ्गोल नेशनल अर्गनाइजेसनले ४९९, नेपाल जनता संरक्षण पार्टीले २२६ र जनमत पार्टीले १४२ मत प्राप्त गरेका छन् ।

लमजुङमा समानुपातिकतर्फ कुल ५७ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये १० दलबाहेक अन्य ४७ दलले १०० मत पनि कटाउन सकेनन् ।