सन्तोष सुवेदी
कास्की, फागुन २६ गते । पुराना र स्थापित दलहरूलाई पन्छाउँदै प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा अप्रत्याशित जित हासिल गरेको छ ।
गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाममा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीमा पहिलो भएको छ । प्रदेशका कुल १८ सिटमध्ये रास्वपाले १५ सिट जित्न सफल भएको छ । दुई सिट नेपाली काँग्रेसले जितेको छ भने एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक सिट पनि ल्याउन सकेन ।
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा काँग्रेसले चुनाव जितेको हो । मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन निर्वाचित हुनुभएको हो । म्याग्दीमा स्वतन्त्रबाट डा. महावीर पुनको विजयी हुनुभएको छ ।
यसबाहेक गण्डकीका आठ जिल्लामा त रास्वपाले ‘क्लीन स्वीप’ नै गर्यो । कास्कीका तीनवटै क्षेत्रमा चुनाव जितेको रास्वपाले गोरखा, तनहुँ, नवलपुर, बागलुङ, पर्वत, लमजुङ र स्याङ्जाका दुईवटै क्षेत्रमा रास्वपानले जित निकालेको छ ।
कास्की १ मा खडकराज पौडेल (गनेस), कास्की २ उत्तमप्रसाद पौडेल र कास्की ३ मा बिना गुरुङ निर्वाचित हुनुभएको छ ।गुरुङ गण्डकी प्रदेशमै प्रत्यक्षतर्फ निर्वाचित एकमात्र महिला हुनुहुन्छ । गोरखा १ मा सुदन गुरुङ र गोरखा २ बाट कवीन्द्र बुर्लाकोटीले जित हासिल गर्नुभयो । स्याङ्जा १ मा डा.धनञ्जय रेग्मी र स्याङ्जा २ मा झविलाल डुम्रे विजयी हुनुभयो भने पर्वतमा वर्षौदेखि काँग्रेस र एमालेले जित्दै आएकोमा यो पटक सागर भुसालले चुनाव जित्नुभयो ।
बागलुङ १ मा सुशील खड्का र बागलुङ २ मा सोम शर्मा विजयी हुनुभयो । लमजुङमा धर्मराज केसी विजयी हुनुभयो ।तनहुँ १ मा डा.स्वर्णीम वाग्लेको दोस्रो जित हो । तनहुँ २ मा श्रीराम न्यौपाने विजयी हुनुभयो ।
नवलपुर १ मा राजन गौतम र नवलपुर २ मा मनिष खनाल निर्वाचित हुनुभयो । २०७९ को निर्वाचनमा गण्डकीमा सबैभन्दा धेरै १० सिट काँग्रेसले जितेको थियो । एमाले पाँच, माओवादी दुई र जनमोर्चाले एक सिट जितेका थिए ।