• २६ फागुन २०८२, मङ्गलबार

प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पराजित

blog

निर्वाचनमा पराजित हुनुभएका क्रमशः धर्मराज चौधरी, धनबहादुर मास्की र कृष्णा केसी नमुना । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, फागुन २६ गते ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चुनावमा होमिनुभएको थियो । तीमध्ये तीनजना असफल हुनुभएको छ भने एक जनाले मात्र निर्वाचनमा सफलता हासिल गर्नुभएको छ ।

झन्डै दुई वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएका तीनजना उम्मेदवारको सङ्घीय संसदुमा जाने सपना अधुरै रह्यो । त्यसरी राजीनामा दिनेहरुमा बाँके–१ (क)बाट निर्वाचित तत्कालीन नेकपा माओवादी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी नमुना, दाङ–३ (ख)बाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बर्दिया– २ (ख)बाट नाउपाबाट निर्वाचित धर्मबहादुर चौधरी र रूपन्देही–४ (क) तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बनिया रहनुभएको छ ।

राजीनामा दिनुभएकामध्ये रूपन्देही– ४ बाट कन्हैया बनिया मात्रै प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ । २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ (क)बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएका बनियाँले यसपटकको चुनावअघि आबद्ध पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिनुभएको थियो ।

बनियाँ २८ हजार ६६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार दुई ६२ मत प्राप्त गर्नुभएको थियो ।

तर प्रदेशसभा सदस्यबाट राजीनामा दिइ प्रतिनिधिसभा सदस्य हुन खोजेका नमुना, मास्की र चौधरीको आकाङ्क्षा भने पूरा भएन । तत्कालीन माओवादीबाट विजयी हुनुभएकी नमुना यसपटक बाँके १ बाटै उम्मेदवार बन्नुभएको थियो । तर उक्त क्षेत्रबाट रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार सात सय ९२ मत प्राप्त गरी निर्वाचित हुँदा केसी एक हजार दुई ४० मत मात्रै पाएर छैटौँ स्थानमा रहनुभयो ।

कांग्रेस–माओवादीसँगको गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका तत्कालीन माओवादी केन्द्र हाल नेकपामा धनबहादुर मास्की दाङ–३ बाटै उम्मेदवार हुनुहुन्थ्यो । उक्त क्षेत्रबाट रास्वपाका कमल सुवेदी ४४ हजार दुई सय ४८ मतसहित निर्वाचित हुँदा चौथो स्थानमा रहनुभएका मास्कीले नौ हजार तीन सय २८ मतमात्रै प्राप्त गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य चुनिनुभएका चौधरीले यसपटक उज्यालो नेपाल पार्टीमा महामन्त्री पदसहित संलग्न भई बर्दिया २ बाटै उम्मेदवारी दिनुभएको थियो । जहाँ रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मतसहित निर्वाचित हुँदा पाँचौँ स्थानमा रहनुभएका चौधरीले चार हजार चार सय ७२ मत मात्रै पाउनुभयो ।

निर्वाचनमा पराजित हुनुभएका धनबहादुर मास्की, कृष्णा केसी नमुना र धर्मराज चौधरी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुनुहुन्थ्यो ।