• २६ फागुन २०८२, मङ्गलबार

चुनाव जितेपछि उत्सव नगरी किताब बिक्री गर्दै महावीर पुन

blog

किताब बिक्री गर्नुहुँदै महावीर पुन । तस्बिर : गोरखापत्र अनलाइन

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, फागुन २६ गते ।
चुनाव जितेका कतिपय उम्मेदवारहरु यतिखेर उत्सव मनाउन व्यस्त छन् । तर म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतले विजयी हुनुभएका डा. महावीर पुन भने यतिखेर फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो आत्मकथा नामक किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ ।

पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पोखरा पुग्नुभएका पुनले पहिलो दिनमै करिब आठ सय पुस्तक बिक्री गरेर ६ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन किताब बिक्री गर्न निस्केको उहाँको भनाइ छ ।

महावीरसँग किताब खरिद गर्न पोखरामा भिड नै लागेको छ । फुर्सदको समयको सदुपयोग गर्दै केही दिन पोखरामा किताब बिक्री गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चुनाव जितेपछि म अहिले केही दिन फुर्सदमा छु । समग्ररुपमा देशभरीको अन्तिम नतिजा आउन बाँकी नै छ । प्रत्यक्ष तर्फको अन्तिम नतिजा आए पनि समानुपातिक तर्फको मतगणना चलिरहेको छ । सबै नतिजा आएपछि बल्ल सपथग्रहण र संसदको बैठक बस्ने होला । त्यसैले यो फुर्सदको समयमा किताब बिक्री गरौं भनेर निस्केको छु ।’’ किताब बिक्री गरेर पहिलो दिन करिब ६ लाख आम्दानी भएको उहाँले बताउनुभयो ।

पुनः संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक बिक्री गर्दै आउनुभएको छ । पुनले २२ हजार ८५० मत ल्याएर म्याग्दीबाट विजयी हुनुभएको थियो ।