केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, फागुन २६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लामा उम्मेदवारी दिनुभएका कुल उम्मेदवारमध्ये ८३ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ । दुवै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामसम्म कुल सदर मतको दस प्रतिशत मत प्राप्त नगरेपछि ४२ उम्मेदवारमध्ये ३५ उम्मेदवारको जमानत जफत भएको हो ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिनुभएका १८ उम्मेदवारमध्ये १४ जना उम्मेदवारको जमानत जफत भएको हो । यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र लामा, राप्रपाका नवराज सत्याल, श्रम संस्कृति पार्टीका धिराज लामा, स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनका कमलबहादुर लामा (तामाङ), नेकपा (माओवादी) का कान्छा तामाङको जमानत जफत भएको हो । यस्तै संयुक्त नागरिक पार्टीका रत्न लामा, स्वतन्त्र उम्मेदवार जीवन लामा, जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका राजु तामाङ, समावेशी समाजवादी पार्टीका विनोद लामा, नेशनल रिपब्लिक नेपालका भरत तामाङ र स्वतन्त्र उम्मेदवार युवराज चौलागाँईको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर–१ ले जनाएको छ ।
यसैगरी, क्षेत्र नम्बर–२ मा उम्मेदवारी दिनुभएका २४ जनामध्ये २१ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जमानत जफत हुनेमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाईं, उज्यालो नेपाल पार्टीका ज्योत्सना सैजु, राष्ट्रिय प्रजातन्त्र पार्टीका रञ्जिव श्रेष्ठ, मङ्गोल नेशनल पार्टीका उमेश तामाङ, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का कान्छाराम घिसिङको जमानत जफत भएको हो ।
यसैगरी, श्रम संस्कृति पार्टीका टेकबहादुर लामा, नेपाल मजदुर किसान पार्टीका मुना तामाङ, जनता समाजवादी पार्टीका रकम लामा, प्रगतिशिल लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका राजन थापाको पनि जमानत जफत भएको छ । नेशनल रिपब्लिक नेपालका सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापा मितेरी पार्टी नेपाका हरिबहादुर राना, स्वतन्त्रतर्फ आसा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनाली र लेलिन बिष्टले १० प्रतिशत मत नल्याएका कारण उहाँहरुको जमानत जफत भएको हो ।
५० प्रतिशत उम्मेदवारले एक सय मत कटाएनन्
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुभएका ५० प्रतिशत उम्मेदवारले एक सय मत समेत प्राप्त गर्न सकेनन् । काभ्रेपलाञ्चोक जिल्लाको दुईवटा निर्वाचन क्षेत्रमा ४२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको थियो । दुवै क्षेत्रको मत परिणाम अनुसार कुल उम्मेदवारमध्ये आधा अर्थात् ५० प्रतिशत उम्मेदवारले आफ्नो क्षेत्रमा एक सय मत पनि प्राप्त गनुभएको छैन । क्षेत्र नम्बर–१ निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मानबहादुर तामाङले ७१ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, समावेशी समाजवादी पार्टीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिक नेपालका भरत तामाङले ६ मत, स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले ७ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवार आशा तामाङले ५९ मत, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत, जनता समाजवादी पार्टी नेपालका रकम लामा (तामाङ) ले ३२ मत, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का राजन थापाले ३२ मत, स्वतन्त्र उम्मेदवार डिल्लीप्रसाद न्यौपानेले ३१ मत, मङ्गोल नेशनल अर्गनाईजेशनका उमेश तामाङले २८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै स्वतन्त्र उम्मेदार उमेश थापाले २६ मत, स्वतन्त्र उम्मेदवार सीताराम मैनालीले २१ मत, नेशनल रिपब्लिक नेपालका सुकमान तामाङले १५ मत, स्वतन्त्र उम्मेदवार विष्णुकुमार श्रेष्ठले १३ मत, गणेश अधिकारीले ११ मत, मितेरी पार्टी नेपालका हरीबहादुर थापाले १० मत, स्वतन्त्र उम्मेदवार लेनिन बिष्टले ८ मत र केशवराज तिमल्सिनाले चार मत प्राप्त गर्नुभएको हो ।