• २८ फागुन २०८२, बिहिबार

सैँतिस उम्मेदवारको जमानत जफत

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), फागुन २६ गते । गुल्मीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि उम्मेदवारी दिएका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार मनोनयन दर्ता गरेका ४३ जनामध्ये दुई निर्वाचन क्षेत्रका कांग्रेस, एमाले र रास्वपाका छ जनाबाहेकको जमानत जफत भएको छ । मुख्य पार्टीमध्ये नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, जनमोर्चासहितका उम्मेदवारको जमानत जफत भएको हो ।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरे जमानत जफत हुने घिमिरेले बताउनुभयो । त्यस्तै गुल्मीमा चार हजार १४० मत बदर भएको छ । क्षेत्र नं. १ मा एक हजार ९४२ र क्षेत्र नं. २ मा दुई हजार १९८ मत बदर भएको छ । समानुपातिकतर्फको बदर मत विवरण अझै आएको छैन । रास्वापाको आशा र पुराना दलको नाताका कारण धेरै मत बदर भएको नेकपा (एमाले) का नेता गणेश श्रीपालीले बताउनुभयो । उहाँले मतदाता शिक्षा पनि प्रभावकारी नभएका कारण बदर मत बढेको बताउनुभयो । २०६४ सालको निर्वाचनमा ३.०८ प्रतिशत बदर मत रहेको थियो । त्यसै गरी २०७० सालको निर्वाचनमा २.६८ प्रतिशत मत बदर भएको थियो । 

निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ३.०४ प्रतिशत मत बदर भएको जानकारी दिनुभयो । २०७९ सालको निर्वाचनमा प्रदेश सभातर्फ २.५९ र प्रतिनिधि सभामा २.८८ प्रतिशत मत बदर भएको थियो । 

गुल्मीमा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । जिल्लामा समानुपातिकतर्फको मतगणना सकिएको छ । गुल्मीका दुई निर्वाचन क्षेत्रमा कुल मतदाता दुई लाख २९ हजार ७७७ मध्ये एक लाख १९ हजार ६२५ मत खसेको थियो । सदर मत एक लाख १६ हजार ५४७ मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ हजार ८४८, नेकपा (एमाले) ले २८ हजार ४४५ मत प्राप्त गरेका थिए ।