• १३ असोज २०८१, आइतबार

‘सपना अनेक–अनेक’ र ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ५ गते । कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर रङ्गकर्मी अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ आजदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदै छ । सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो । विदेश पुग्ने सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात–दिन तड्पिरहेकाहरूको कथा नाटकमा देख्न पाइनेछ । नाटकमा देशको माटोलाई आमाको विम्बका रूपमा प्रयोग गरिएको छ ।

नाटकमा सङ्गीतकार राजु सिंहले सङ्गीत दिनुभएको छ भने बानिका प्रधान र सत्यराज आचार्यको आवाज रहेको छ । प्रमिला कार्की उप्रेतीको कोरियोग्रफीले कलाकारहरूको शारीरिक चाललाई घाँटु, चरिया, भरतनृत्य र नेपाली लोकनृत्यको संयोजन गरेको छ । नाटक साउन ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुँदै छ भने नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धीरज थापामगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ–गूको अभिनय रहेको छ ।

यस्तै बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबारबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु भएको छ । हिमालबाट बगेका तीनवटा नदीले आफ्नो समुद्रसम्मको यात्राको कथा नाटकले भनेको छ । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू भेटिन्छन् ।

कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएर उपत्यकाबाहिर १२ पटक मञ्चन भएको नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज तथा घिमिरे युवराजले गर्नुभएको छ । नाटकमा ज्योति पोखरेल, रविन परियार, पवित्रा खड्का, सङ्गीता उराव, झकेन्द्र बिसी, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ । नाटकमा सङ्गीत स्मारिका फुयाँल र अनुप तिमल्सिनाले दिनुभएको छ ।