• ११ मंसिर २०८१, मङ्गलबार

रोपाइँमा ढिलाइ

blog

कैलालीको धनगढीमा पानी नपर्दा सुक्खा बन्दै गएको धानखेत । तस्बिर : अविनाश चौधरी

काठमाडौँ, साउन ५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर ६० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष यो बेलासम्म ९० प्रतिशतको हाराहारीसम्म रोपाइँ भएका थियो । यसपालि रोपाइँ किन ढिलो भयो भन्ने प्रश्नमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेल मुख्य कारण सिँचाइ (पानी)को अभाव बताउनुहुन्छ । 

वर्षा कम भएका कारण धान रोपाइँमा ढिलाइ भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “धानका लागि पर्याप्त सिँचाइ पुगेको छैन, आकाशे पानीको पर्खाइमा किसान बसेको हुनाले रोपाइँँमा ढिलाइ भएको हो ।” मौसमले साथ दियो भने साउन १५ गतेसम्म रोपाइँ सकिने दाबी पनि उहाँले गर्नुभयो । 

सबभन्दा कम रोपाइँ भएको मधेश प्रदेशका कृषि मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले मधेशमा १० दिनदेखि पानी नपरेकाले रोपेको धान सुक्न थालेको बताउनुभयो । पानी नपरेका कारण धान रोपाइँमा ढिलाइ भएको उहाँले बताउनुभयो । 

कृषि मन्त्रालयका अनुसार खेतीयोग्य जमिनमध्ये ४० प्रतिशतमा मात्र सिँचाइ पुगेको छ । बाँकी खेती आकाशे पानीको भरमा हुने गरेको चर्चा विभागका महानिर्देशक पौडेलले भन्नुभयो, “सिँचाइ भएको ठाउँमा अहिले पनि रोपाइँ भइरहेको छ । जहाँ पानी छैन त्यहाँ रोपाइँ भएको छैन ।” जल तथा सिँचाइ विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्णप्रसाद नेपालले सिँचाइका कारण धान रोपाइँमा ढिलाइ भएको कृषि मन्त्रालयको दाबी गलत रहेको बताउनुभयो । 

विभागको तथ्याङ्कमा १५ लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा छ । त्यसैले महानिर्देशक नेपालले अहिले कहीँ पनि सिँचाइको अभाव नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गहुँ तथा अन्य बेलामा अलिकति समस्या हुने गरेको छ तर धानको सिजनमा पर्याप्त सिँचाइको व्यवस्था छ । बढी भएको पानी हामीले कहिलेकाहीँ अन्यत्र पठाउनुपरेको हुन्छ ।”धानको सिजनमा १५ लाख हेक्टरमा सिँचाइ हुन्छ भने गहुँको सिजनमा १० लाख हेक्टर र सुक्खा सिजनमा पाँच लाख हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ हुने गरेको उहाँले बताउनुभयो । 

कृषि मन्त्रालयको तथ्याङ्कले ४० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ पुगेको देखाउँछ तर सिँचाइ विभाग भने यसलाई स्वीकार गर्न तयार छैन । “सुक्खा सिजनमा सिँचाइ सुविधा पुग्ने पाँच लाख हेक्टरलाई मात्रै ४० प्रतिशत भनेको हो छ भने त्यसलाई हामी पनि स्वीकार गर्छौं तर अहिले (धानको सिजन)को समयमा शतप्रतिशत सिँचाइ भइरहेको छ ।

जहाँजहाँ हाम्रो सिँचाइको व्यवस्था छ, त्यहाँ किसानको खेतमा पानी गएका छैन भने हामीलाई भनोस् हामी तत्कालै पु¥याउँछौँ, सिँचाइ विभागका प्रवक्ता नेपालले भन्नुभयो ।सिँचाइ विभागका अनुसार सतहगत (नदीनाला, बाँध) प्रणालीबाट चार लाख हेक्टरमा सिँचाइ हुन्छ भने भूमिगत (स्यालो तथा डिप ट्युबवेल)बाट पाँच लाख हेक्टरमा सिँचाइ हुन्छ । बाँकी छ लाख हेक्टर अन्य प्रविधिबाट सिँचाइ भइरहेको छ । 

सिँचाइ विभागका अनुसार झापाको कनकाई सिँचाइ प्रणालीबाट आठ हजार, सुनसरी–मोरङ सिँचाइ प्रणालीबाट ६८ हजार, कोसी पम्प वितरण सिँचाइ प्रणालीबाट ११ हजार, चन्द्रनहरा प्रणालीबाट १३ हजार, कमला सिँचाइ प्रणालीबाट १० हजार पाँच सय, मनुषमारा सिँचाइ प्रणालीबाट दुई हजार र बागमती सिँचाइ आयोजनाबाट पाँच हजार दुई सय हेक्टरमा सिँचाइ हुन्छ । 

यसैगरी नारायणी अञ्चल सिँचाइ प्रणालीबाट २८ हजार ७००, नारायणी लिफ्ट सिँचाइ प्रणालीबाट चार हजार ७००, खगेरी सिँचाइ प्रणालीबाट तीन हजार ९००, नेपाल गण्डक सिँचाइ प्रणालीबाट १० हजार ३००, वाणगङ्गा सिँचाइ प्रणालीबाट छ हजार २००, मर्चवार लिफ्ट सिँचाइ प्रणालीबाट तीन हजार ५००, भेरी लुम्बिनी सिँचाइ प्रणालीबाट २० हजार ३०६, बबई सिँचाइ प्रणालीबाट १३ हजार ५००, राजापुर सिँचाइ प्रणालीबाट १३ हजार र महाकाली सिँचाइ प्रणालीबाट ११ हजार ६०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेको विभागले जनाएको छ । 

कृषि मन्त्रालयले ३० लाख हेक्टर खेतीयोग्य जमिन रहेको भनेको छ । त्यो ३० लाख हेक्टर जमिनमध्ये २५ लाख हेक्टर जमिन सिँचाइयोग्य रहेको सिँचाइ विभागका प्रवक्ता नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषि मन्त्रालयले दुई लाख हेक्टर क्षेत्रफल भएको यस्ता जमिनलाई खेतीयोग्य भनेको छ । जहाँ खेती नै हुँदेन र तीन लाख हेक्टर खेतीयोग्य जमिन जहाँ सिँचाइको कुनै स्रोत नै छैन ।” 

२५ लाख हेक्टर जमिनमध्ये सिँचाइ विभागले १५ लाख हेक्टरमा पूर्ण रूपमा सिँचाइ पु-याइसकेको छ । बाँकी १० लाख हेक्टरका लागि सिँचाइ प्रणालीको विकास भइरहेको विभागले जनाएको छ । कृषि मन्त्रालयले पनि १५ लाख ४४ हजार हेक्टरमा धान खेती हुने गरेको भनेको छ, सिँचाइ विभागले पनि आफूहरूले १५ लाख हेक्टरमा सिँचाइ पु-याइरहेको हिसाब देखाइरहेको छ । यहाँ दुवैको हिसाब मिल्छ तर कृषि मन्त्रालयले सिँचाइ नभएका कारण रोपाइँ ढिलो भएको भनिरहेको छ । 

सिँचाइ विभागका प्रवक्ता नेपालले भन्नुभयो, “धान रोपाइँ सिँचाइका कारणले ढिलो भएको होइन । कसैले समयमा बीउको ब्याड नराखेको होला, कसैले धान रोप्ने मजदुर नपाएको होला, कसैले मल नपाएको होला, थुप्रै कारण हुनसक्छ तर सिँचाइका कारण रोपाइँमा ढिलो भयो भन्ने कुरा हामी मान्दैनौँ ।’