नारी अधिकार र समानताको आन्दोलन विश्व इतिहासको महत्वपूर्ण अध्याय हो । आज हामी हरेक वर्षको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँछौँ तर यसको पछाडि लामो सङ्घर्ष, त्याग र बलिदानको कथा लुकेको छ । यो दिवस केवल उत्सव नभई महिलाले अधिकारका लागि लडेको ऐतिहासिक आन्दोलनको सम्झना गर्ने अवसर पनि हो ।
२० औँ शताब्दीको सुरुवाततिर औद्योगिक क्रान्तिपछि महिला कारखानामा काम गर्न थाले तर उनीहरूले पुरुषभन्दा कम तलब, लामो कार्यघण्टा र असुरक्षित वातावरण भोग्नु प¥यो । सन् १९०८ मा न्युयोर्कका हजारौँ महिला कपडा कारखाना मजदुरले ‘रोटी र गुलाव’ को नारा दिँदै हडताल गरे । जुन हड्ताल महिला श्रमिक अधिकार र कामदारको अधिकारसँग सम्बन्धित आन्दोलन हो । उनीहरूको माग थियो समान तलब, छोटो कार्यसमय र मतदान अधिकार । यो आन्दोलनले केवल आर्थिक अधिकार मात्र होइन सम्मानपूर्ण जीवनको अधिकार पनि मागेको थियो । यो आन्दोलनले विश्वभर महिला श्रमिक अधिकारप्रति चेतना जगायो । त्यसैको प्रभावस्वरूप सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा ‘क्लारा जेट्किनले’ महिलाको अधिकारका लागि हरेक वर्ष एक विशेष दिन मनाउनुपर्ने प्रस्ताव राखेकी थिइन् । प्रस्ताव सर्वसम्मतिले पारित भयो र सन् १९११ देखि विभिन्न देशमा नारी दिवस मनाउन थालियो ।
सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महिला वर्ष घोषणा ग¥यो । जसको उद्देश्य महिला र पुरुषविच समान अधिकार स्थापना गर्नु, महिला विकास र सशक्तीकरणलाई प्रोत्साहन गर्नु र समाजमा रहेको लैङ्गिक विभेद हटाउनु थियो । मार्च ८ लाई औपचारिक रूपमा महिला दिवसका रूपमा मान्यता दियो । त्यसपछि विश्वभर यस दिवसलाई सरकारी तथा गैरसरकारी तहमा व्यापक रूपमा मनाउन थालियो । संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष फरक फरक नारामार्फत लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, नेतृत्व, दिगो विकासमा महिलाको भूमिकालाई प्राथमिकता दिँदै आएको छ ।
नेपालको इतिहासमा महिलाले सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका लागि महìवपूर्ण भूमिका खेलेका छन् । लामो समयसम्म पितृसत्तात्मक सोच, सामाजिक कुरीति, अशिक्षा र आर्थिक परनिर्भरताका कारण महिला विभिन्न अधिकारबाट वञ्चित भए । यही असमानता र अन्यायका विरुद्ध माहिलाले समय समयमा गरेको आन्दोलन र प्रयास नारी सङ्घर्षको इतिहास हो ।
नेपालको इतिहास राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र अधिकारका आन्दोलनले भरिएको छ । यी सबै यात्रामा नेपाली महिलाको योगदान अझै महìवपूर्ण रहँदै आएको छ । उनीहरूको सङ्घर्ष केवल राजनीतिक अधिकारका लागि मात्र होइन सामाजिक न्याय, शिक्षा, सम्पत्ति, अधिकार, सम्मान र समान अवसरका लागि पनि थियो । नेपालको सन्दर्भमा नारी सङ्घर्ष भन्ने विषयले विगतदेखि वर्तमानसम्मको गहिरो पीडा साहस र परिवर्तनको कथा बोकेको छ । राणा शासनको समयमा महिला शिक्षाबाट वञ्चित थिए । बालविवाह, सतीप्रथा, बहुविवाह, छाउपडी जस्ता कुरीति व्यापक थिए । महिलालाई घरभित्र सीमित राख्ने सोच प्रबल थियो । यस्तो दमनकारी परिवेशमा पनि केही महिलाले आवाज उठाए ।
योगमाया न्यौपानेले राणा शासनकालमा समाजमा फैलिएका विभिन्न कुरीति र अन्यायका विरुद्ध आन्दोलन गरिन् । उनले विशेष गरी महिलामाथिको अन्याय, सामाजिक भेदभाव, भ्रष्टाचार धार्मिक कुप्रथा जस्ता विषयविरुद्ध आवाज मात्र उठाइनन् । सँगसँगै अभियान पनि चलाइन् । जब उनका माग पूरा भएनन् तब उनले विरोधस्वरूप विसं १९९८ असार २२ गते करिब ६० भन्दा बढी अनुयायीसँग भोजपुरको अरूण नदीमा सामूहिक जलसमाधि लिइन् । जसले महिला विद्रोको ऐतिहासिक उदाहरण प्रस्तुत ग¥यो । यो घटना नेपालको इतिहासमा सामाजिक अन्यायका विरुद्ध गरिएको ठुलो र साहसी आन्दोलन मानिन्छ । उनको सङ्घर्षले आज पनि नेपाली समाजलाई अन्यायका विरुद्ध आवाज उठाउन प्रेरणा दिइरहन्छ ।
नेपालमा महिलाको अवस्था विगतको तुलनामा धेरै सुधार भए पनि अझै पनि धेरै चुनौती विद्यमान छन् । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा महिलाले विभिन्न किसिमका समस्या भोगिरहेका छन् । नेपालको समाज अझै पनि धेरै हदसम्म पितृसत्तात्मक छ । पुरुष र महिलाबिच समान अवसर नदिइने, कमजोर ठानिने, घरायसी काम मात्र महिलाको जिम्मेवारी हो भन्ने सोचले महिलालाई पछि पारिरहेको छ । यसले शिक्षा, रोजगार र निर्णय प्रक्रियामा महिलाको सहभागिता कम बनाउँछ । ग्रामीण क्षेत्रका धेरै महिला अझै पनि शिक्षाबाट वञ्चित छन् । शिक्षा नपाउँदा महिला आफ्नो अधिकारबारे सचेत हुन सक्दैनन् । त्यसैले ग्रामीण भेगमा पनि शिक्षाको व्यवस्था गर्नु अपरिहार्य छ । नेपालमा घरेलु हिंसा, बालविवाह, दाइजो प्रथा, यौन दुव्र्यवहार जस्ता समस्या अझै पनि चुनौतीका रूपमा रहेका छन् । धेरै महिला हिंसा सहेर पनि सामाजिक लाज वा डरका कारण बाहिर बोल्न सक्दैनन् ।
अधिकांश महिला आर्थिक रूपमा पुरुषमाथि निर्भर छन् । रोजगारीका अवसर सीमित हुनु, समान कामको समान पारिश्रमिक नपाउनु, सम्पत्तिमा अधिकार प्रयोग गर्न कठिनाइ हुनु जस्ता कारणले महिलाको आर्थिक सशक्तीकरण अझै कमजोर छ । महिलाको स्वास्थ्यप्रति पर्याप्त ध्यान नदिने चलनले धेरै समस्या सिर्जना गरेको छ । किशोरी स्वास्थ्य, गर्भावस्था, पोषणको कमी, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यबारे पर्याप्त सचेतनाको अभाव छ । प्रजातन्त्र, स्थापना अन्दोलन, जनआन्दोलन, संविधान निर्माण प्रक्रियामा नेपाली महिलाको भूमिका अति नै महत्वपूर्ण रह्यो । राजनीति, प्रशासन र नेतृत्व तहमा महिलाको सहभागिता बढ्दै गएको भए पनि अझै पनि पर्याप्त छैन । कतिपय अवस्थामा महिलालाई केवल कोटा पूर्तिका लागि मात्र हेर्ने प्रवृत्ति देखिन्छ ।
नेपालको सन्दर्भमा नारी सङ्घर्ष बहुआयामिक र ऐतिहासिक रूपमा समृद्ध छ । राणाशासनको अन्धकारदेखि संवैधानिक समानतासम्मको यात्रा साहस, बलिदान र निरन्तर प्रयासको परिणाम हो । सङ्घर्ष समाप्त भएको छैन । समानता केवल कानुनमा मात्र होइन व्यवहारमा पनि स्थापित हुनु पर्छ । जबसम्म हरेक नेपाली महिला सुरक्षित, शिक्षित, आत्मनिर्भर र सम्मानित हुँदैनन्, तबसम्म नारी सङ्घर्षको यात्रा जारी नै रहन्छ । नेपालमा नारी दिवस मनाइरहँदा देखिने उत्साह सकारात्मक सङ्केत हो । वास्तविक चुनौती भनेको यसलाई औपचारिक कार्यक्रमबाट व्यावहारिक परिवर्तनतर्फ लैजानु हो ।