सिकाइका तीन वटा आधारभूत नियम छन्– तयारी, अभ्यास र असर । तीमध्ये पहिलो नियम ‘तयारी’ पूरा नभई कुनै पनि सिकाइ प्रभावकारी हुँदैन । तयारी विद्यार्थीको मानसिक, शारीरिक र भावनात्मक अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ, जसले उसको ग्रहणशीलता र एकाग्रतालाई निर्धारण गर्छ । शैक्षिक मनोविज्ञानले पनि स्पष्ट रूपमा देखाएको छ कि जबसम्म विद्यार्थीको मस्तिष्क नयाँ ज्ञान ग्रहण गर्न तयार हुँदैन, तबसम्म शिक्षण सिकाइ प्रक्रिया यान्त्रिक अभ्यासमा सीमित रहन्छ । यो कुरा विचार नगरी बालकलाई जबरजस्ती पढाउन खोज्दा सिकाइ सतही बन्छ र दीर्घकालीन स्मृतिमा रूपान्तरण हुन सक्दैन । तयारीबिनाको सिकाइ समय, श्रम र सम्भावनाको अपव्यय मात्र हो ।
सिकाइ प्रक्रकया उत्सुकता र जिज्ञासाबाट प्रारम्भ हुन्छ । यो स्वतन्त्र र सहयोगी वातावरणमा मात्र फस्टाउँछ । जिज्ञासा नै ज्ञानको द्वार हो र त्यो द्वार डर, दबाब र अनावश्यक प्रतिस्पर्धाले बन्द गरिदिन्छ । नेपालका खासगरी सहरी विद्यालयमा बढ्दो अतिरिक्त कक्षा, कोचिङ र ट्युसन संस्कृतिले विद्यार्थीको स्वाभाविक जिज्ञासालाई क्रमशः क्षीण बनाइरहेको छ । सिकाइलाई अनुभव र खोजको यात्राका रूपमा लिनुपर्ने ठाउँमा अङ्क–केन्द्रित दौडमा सीमित गरिएको छ । परिणामतः विद्यार्थी सिर्जनशील शिक्षार्थीभन्दा परीक्षा–उन्मुख यन्त्रमा रूपान्तरित भइरहेका छन् । यसरी मानसिक तयारी र आन्तरिक प्रेरणाबिना गरिएको शिक्षण दीर्घकालीन रूपमा फलदायी हुँदैन ।
मानसिक श्रमको प्रकृति शारीरिक श्रमभन्दा सूक्ष्म तर गहिरो थकान उत्पन्न गर्ने खालको हुन्छ । स्नायविक प्रणाली निरन्तर सक्रिय रहँदा मस्तिष्कलाई पुनःऊर्जित हुने अवसर आवश्यक पर्छ, जुन विश्राम र मनोरञ्जनबाट मात्र सम्भव हुन्छ । विद्यालयमा सञ्चालन गरिने शिक्षक सिकाइ क्रियाकलाप संरचनामा ब्रेक, टिफिन र साप्ताहिक बिदा समावेश हुनुको मूल उद्देश्य नै संज्ञानात्मक सन्तुलन कायम गर्नु हो । कमजोर विद्यार्थी सुधार्ने नाममा विद्यालय समयबाहेक बिहान–बेलुका अतिरिक्त कक्षा सञ्चालन गर्नु शैक्षिक दृष्टिले प्रत्युत्पादक अभ्यास हो । थकित मस्तिष्कले सूचना त सङ्कलन गर्न सक्ला तर त्यसलाई विश्लेषण र आत्मसात् गर्न सक्दैन । पर्याप्त आरामबिना गरिएको सिकाइले ज्ञान होइन, केवल तनाव उत्पादन गर्छ ।
सिकाइका लागि विद्यार्थीमा रमाइलो आरामको आवश्यकता पर्छ । यसका लागि, ‘हप्तामा एक दिन, पुस्तकरहित दिन’ लागू गर्नु राम्रो हो । त्यो दिनले थोरै भए पनि विद्यार्थीको शिक्षालाई जीवनसँग जोड्ने अवसर प्रदान गरोस् । त्यसका लागि विद्यालयमा, खेलकुद, कला, सङ्गीत र सहकार्यात्मक गतिविधि सञ्चालन होस्, जसले उनीहरूमा सामाजिक सिप, भावनात्मक बुद्धिमत्ता र नेतृत्व क्षमताको विकास गर्न सकोस् । अधिकांश विद्यालयमा यस्ता कार्यक्रम औपचारिकतामा सीमित छन् । खालि पढाइ र परीक्षामा मात्र रातदिन जोतिनुपर्दा विद्यार्थीको दिमागै गोलमाल भएको हुन सक्छ । अझ कतिपय विद्यालयले त हप्तामा एक दिन विद्यार्थीले पाउने शनिबारे बिदामा समेत परीक्षा लिने गरेको पाइन्छ । बालबालिकाले हप्तामा एक दिन विश्वव्यापी रूपमा पाउने स्वतन्त्र समयसमेत नियन्त्रण गर्न नहुने कुरा शिक्षाविद् बताउँछन् । विद्यार्थीको त्यस्तो समय लिनु भनेको शिक्षालाई हौसला र पुरस्कारको अनुभूतिमा रूपान्तरण नगरी दबाब र दण्डात्मक संरचनामा रूपान्तरण गर्नु हो ।
विश्वका उत्कृष्ट शिक्षा प्रणालीले गुणस्तरीय सिकाइका लागि समयको मात्र होइन, गुणात्मक संलग्नतालाई प्राथमिकता दिएका छन् । फिनल्यान्ड, डेनमार्क र जापान जस्ता देशमा विद्यार्थीले तुलनात्मक रूपमा कम समय कक्षामा बिताए पनि उच्च उपलब्धि हासिल गर्छन् । यसको आधार विद्यार्थी–केन्द्रित पाठ्यक्रम, लचिलो मूल्याङ्कन प्रणाली र मानसिक स्वास्थ्यप्रतिको संवेदनशीलता हो । उनीहरू सिकाइलाई प्रतिस्पर्धा होइन, आत्मविकासको प्रक्रिया ठान्छन् । हाम्रा अधिकांश विद्यालयमा विद्यार्थीलाई लामो समय कक्षामा राख्नुलाई नै शैक्षिक गुणस्तरको मापदण्ड मान्ने प्रवृत्ति हाबी छ । समयको लम्बाइले होइन, सिकाइको गहिराइले मात्रै शैक्षिक उत्कृष्टता निर्धारण गर्छ ।
बाल्यकाल जीवनको सिर्जनात्मक ऊर्जाले भरिएको चरण हो, जसलाई केवल परीक्षामुखी संरचनामा सीमित गर्नु अन्यायपूर्ण हुन्छ । महान् वैज्ञानिक र चिन्तकले आफ्ना मौलिक विचार प्रायः विश्राम र स्वच्छन्द चिन्तनकै क्षणमा पाएका छन् । अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्त गहन चिन्तनका दौरान प्रतिपादन गरेका थिए भने आर्किमिडिजले स्नानगृहमा पानी विस्थापनको सिद्धान्त पत्ता लगाएका थिए । यी उदाहरणले देखाउँछन् कि अवचेतन मनलाई सक्रिय हुन समय र स्वतन्त्रता चाहिन्छ । अत्यधिक गृहकार्य र निरन्तर परीक्षा संस्कृतिले बालबालिकाको कल्पनाशक्ति कुण्ठित पारिरहेको छ । सिर्जनशीलताको विकासका लागि विश्राम अपरिहार्य सर्त हो ।
कमजोर ठानिएका विद्यार्थीप्रति विद्यालयद्वारा अपनाइने सुधारात्मक रणनीति प्रायः थप कक्षा र थप अभ्यासमै सीमित हुन्छ, जुन सर्वदा प्रभावकारी हुँदैन । प्रत्येक विद्यार्थीको बौद्धिक संरचना, रुचि र प्रतिभा फरक हुन्छ भन्ने यथार्थलाई बेवास्ता गर्दा हीनताबोध जन्मिन्छ । आत्मविश्वासविहीन विद्यार्थीले सिकाइलाई चुनौती होइन, भयका रूपमा ग्रहण गर्छ । त्यसैले त्यस्ता फरक रुचि भएका विद्यार्थीलाई परामर्श, प्रोत्साहन र व्यक्तिगत मार्गदर्शन आवश्यक हुन्छ । अभिभावक र विद्यालय प्रशासनले एकअर्कामा जिम्मेवारी थोपर्ने प्रवृत्तिले समस्या समाधान हुँदैन । दुवै थरी मिलेर विद्यार्थीलाई सहानुभूतिपूर्ण सहयोग गरेमा मात्र शैक्षिक सुधार सम्भव हुन्छ ।
खास गरी अन्तिम परीक्षा आउनुभन्दा केही महिनाअघि परीक्षाको तयारी गर्ने नाममा विद्यार्थीले भोग्नुपर्ने अत्यधिक शैक्षिक चापले उनीहरूको मानसिक स्वास्थ्यमा समेत ठुलो असर पारेको छ । बिहानदेखि साँझसम्मको कक्षागत व्यस्तताले उनीहरूलाई आत्माभिव्यक्तिको अवसरबाट वञ्चित गर्छ । तनाव, निराशा र आत्महीनताको भावना बढ्दै जानु शैक्षिक असन्तुलनको प्रत्यक्ष परिणाम हो । शिक्षा प्रतिस्पर्धाको रणभूमि होइन, व्यक्तित्व विकासको प्रयोगशाला हुनु पर्छ । हामीले समयमै सन्तुलन कायम गर्न सकेनौँ भने यसको सामाजिक मूल्य निकै महँगो पर्न सक्छ । बालबालिकाको मानसिक स्वास्थ्यलाई शिक्षाको अभिन्न अङ्गका रूपमा स्विकार्नु आजको अपरिहार्यता हो ।
सिकाइ र यातनाबिचको भिन्नता स्पष्ट छ तर व्यवहारमा यी दुईको सीमारेखा मेटिँदै गएको छ । सिकाइ स्वतन्त्रता, प्रश्न र अन्वेषणमा आधारित हुन्छ भने यातना भय, दबाब र दण्डमा आधारित हुन्छ । जब विद्यार्थीलाई निरन्तर मूल्याङ्कन र तुलना गरिन्छ, ऊ आफ्नो मौलिकता गुमाउन थाल्छ । बाल्यकालको सौन्दर्य अङ्कतालिकामा सीमित हुन सक्दैन । हामीले आज गरेको शैक्षिक निर्णयले भोलिको नागरिक निर्माण गर्छ । डरमुक्त वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाको आधार हो ।
बालबालिकाको समग्र विकासका लागि शिक्षा, खेल, कला र विश्रामबिच सन्तुलन अपरिहार्य छ । स्वस्थ बालक त्यो हो, जसले पाठ्यपुस्तकसँगै जीवनका व्यावहारिक पाठ पनि सिक्न पाउँछ । विद्यालयपछिको समय उसको आत्मपहिचान र सामाजिक अन्तक्रियाको प्रयोगशाला हो । हामीले त्यो समय पनि नियन्त्रणमा लियौँ भने उसले स्वतन्त्र सोच्ने अवसर गुमाउँछ । शिक्षाको लक्ष्य केवल रोजगार होइन, जिम्मेवार र सिर्जनशील नागरिक निर्माण हो । त्यसैले सन्तुलित दिनचर्या नै प्रभावकारी सिकाइको आधार हो ।
अन्ततः, सिकाइको पहिलो नियम तयारी हो र तयारीको पहिलो सर्त हो–उमेरको पहिचान, रुचिको सम्मान र पर्याप्त विश्राम । जब बालबालिकालाई प्रेम, प्रोत्साहन र आत्माभिव्यक्तिको स्वतन्त्रता दिइन्छ, तब मात्र ज्ञान दीर्घकालीन मूल्यमा रूपान्तरित हुन्छ । हामीले शिक्षालाई दबाबमुक्त, विद्यार्थीकेन्द्रित र जीवनोपयोगी बनाउन ढिला गर्नु हुँदैन । नत्र, सिकाइको नाममा मानसिक बोझ मात्र थोपर्ने जोखिम रहिरहन्छ । आजैदेखि बालबालिकाको बाल्यकाल जोगाउँदै, तयारीसहितको शिक्षण संस्कृतितर्फ उन्मुख हुनु नै हाम्रो सामूहिक दायित्व हो ।