• २३ फागुन २०८२, शनिबार

झापामा शीर्ष नेताको विरासत भत्कने संकेत, ५ वटै क्षेत्रमा रास्वपाको प्रारम्भिक अग्रता

blog

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन हाल झापाका ५ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । राजनीतिक दलका प्रतिनिधिहरु फेरिरहने र आउनजान ढिला गर्ने गरेकाले गणना प्रभावित हुने गरेको बताईएको छ ।

झापामा प्रत्यक्षतर्फको मतगणना शनिबार बेलुकासम्म सकिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनुभएको छ ।

जिल्लाका पाँचै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिनुभएको छ । पार्टीका शिर्ष नेताहरुलाई समेत रास्वपाका उम्मेद्वारहरुले पछि पार्नुभएको छ ।

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह फराकिलो मतान्तरसहित अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पछ्याइरहनु भएको छ ।

यसैगरी झापा–४ मा रास्वपाका शम्भु सुस्केरा ढकाल अग्रस्थानमा रहनुभएको छ । नेकपा एमालेका लालप्रसाद साँवा दोस्रो स्थानमा रहनुभएको छ । त्यस्तै झापा–३ मा रास्वपाका प्रकाश पाठक अग्रता कायम गर्नुभएको छ । उहाँलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पछ्याइरहनु भएको छ ।

झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर फराकिलो मतान्तरले अगाडि रहनुभएको छ । उहाँलाई एमालेका देवराज घिमिरे पछ्याइरहनु भएको छ । रानामगर निवर्तमान उपसभामुख तथा घिमिरे निवर्तमान सभामुख रहनुभएको थियो ।

यस्तै झापा–१ मा रास्वपाकी निशा डाँगी अग्रस्थानमा छन् भने केवलीराम राई (श्रम संस्कृति पार्टी) दोस्रो स्थानमा रहेको छ । यहाँ नेपाली काँग्रेस तेश्रो र नेकपा एमाले उम्मेद्वार चौधो नम्बरमा रहनुभएको छ ।

प्रारम्भिक मतगणनामा झापाका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा देखिएसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ संकेत देखिएको चर्चा हुन थालेको छ ।