गोमा (कङ्गो), फागुन २१ गते । पूर्वी कङ्गोको खनिज-सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु भएको कङ्गोका अधिकारीहरूले बताएका छन् । तर सो क्षेत्र नियन्त्रणमा राखेको विद्रोही समूहले मृत्यु सङ्ख्या निकै कम भएको दाबी गर्दै सरकारी विवरणमाथि विवाद जनाएको छ ।
कङ्गोको खानी मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मङ्गलबार एम २३ विद्रोही समूहको नियन्त्रणमा रहेको रुबाया क्षेत्रको खानी भत्किँदा ठुलो जनधनको क्षति भएको जनाएको छ । खनिजले धनी तर लामो समयदेखि द्वन्द्वग्रस्त रहेको पूर्वी कङ्गोमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् ।
तर खानी क्षेत्र नियन्त्रणमा राखेको एम२३ विद्रोही समूहका वरिष्ठ अधिकारी फेनी काजले सरकारी विवरण अस्वीकार गर्दै उक्त घटनालाई खानी भत्किने दुर्घटना नभई बम विस्फोट भएको बताउनुभएको छ । उहाँका अनुसार मृत्यु सङ्ख्या पाँच जनाभन्दा बढी नभएको दाबी गरिएको छ ।
“प्रकाशित भइरहेका विवरण सही होइनन् भन्ने कुरा म पुष्टि गर्न सक्छु”, काजले भन्नुभयो, “त्यहाँ कुनै भूस्खलन भएको थिएन, बम विस्फोट भएको थियो र मृत्यु सङ्ख्या मानिसले भनिरहेका जस्तो होइन । करिब पाँच जनाको मृत्यु भएको छ ।” तर घटनास्थलमा काम गर्ने खनिज मजदुर इब्राहिम तालुसेकले भने उद्धार कार्यमा संलग्न हुँदा आफूले २०० भन्दा बढी शव बाहिर निकालेको बताउनुभयो ।
उहाँका अनुसार वास्तविक मृत्यु सङ्ख्या लुकाइने प्रयास भइरहेको हुन सक्छ । “हामी डराएका छौँ, तर मानिसको जीवन खतरामा छ”, तालुसेकले भन्नुभयो, “पिटका मालिकले वास्तविक मृत्यु सङ्ख्या सार्वजनिक गर्न चाहँदैनन् ।” रुबाया क्षेत्र पूर्वी कङ्गोको महत्त्वपूर्ण खनिज क्षेत्रमा पर्छ । यो क्षेत्र दशकौँदेखि सरकारी सेना र विभिन्न सशस्त्र समूहबिचको सङ्घर्षका कारण अस्थिर रहँदै आएको छ । हालै पुनः सक्रिय भएको रुवान्डा समर्थित एम२३ विद्रोही समूहले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि द्वन्द्व झनै चर्किएको छ ।
कङ्गो विश्वको प्रमुख कोल्टन आपूर्तिकर्ता देश हो । कोल्टन कालो धातुको अयस्क हो जसमा टान्टालम नामक दुर्लभ धातु पाइन्छ । यो धातु स्मार्टफोन, कम्प्युटर तथा विमानका इन्जिन निर्माणमा महत्त्वपूर्ण कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार सन् २०२३ मा विश्वभर उत्पादन भएको कोल्टन मध्ये करिब ४० प्रतिशत कङ्गोबाट आएको थियो । अस्ट्रेलिया, क्यानडा र ब्राजिल पनि यसको ठुला आपूर्तिकर्ता देश हुन् ।
विश्वभर प्रयोग हुने टान्टालमको १५ प्रतिशतभन्दा बढी आपूर्ति रुबायाका खानीबाट हुने बताइएको छ । सन् २०२४ को मे महिनामा एम२३ विद्रोहीले रुबाया सहर कब्जा गरी त्यहाँका खानी नियन्त्रणमा लिएका थिए । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार त्यसपछि विद्रोहीले कोल्टनको व्यापार र ढुवानीमा कर लगाउँदै आएका छन्, जसबाट उनीहरूले महिनामा कम्तीमा आठ लाख अमेरिकी डलर आम्दानी गर्ने गरेका छन् ।
पूर्वी कङ्गो लामो समयदेखि द्वन्द्व, हिंसा र अस्थिरताको चपेटामा छ । विभिन्न सशस्त्र समूह र सरकारी सेनाबिचको सङ्घर्षका कारण विश्वकै ठुलो मानवीय सङ्कटमध्ये एक उत्पन्न भएको छ । हालसम्म ७० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्, जसमध्ये डिसेम्बर यता मात्र ३,००,००० भन्दा बढीले घर छोड्न बाध्य भएका छन् ।
गत जुनमा कङ्गो र रुवान्डा सरकारले संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । विद्रोही समूह र कङ्गो सरकारबिच वार्ता जारी रहे पनि पूर्वी कङ्गोका विभिन्न क्षेत्रमा अझै पनि लडाइँ जारी छ र यसबाट नागरिक तथा सैनिक दुवैतर्फ ठुलो क्षति भइरहेको छ । कङ्गो र रुवान्डाबिच भएको सम्झौताले अमेरिकी सरकार र अमेरिकी कम्पनीलाई महत्त्वपूर्ण खनिजमा पहुँच बढाउने बाटो पनि खोलेको छ । गत महिना पनि यस्तै प्रकारको खानी दुर्घटनामा २०० भन्दा बढी मानिसको ज्यान गएको थियो । रासस/एपी