केशवराज भट्ट
वाशुलिङ बैतडी, फागुन २१ गते । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
जिल्लामा एक अस्थायी सहित कुल २ सय १५ मतदान केन्द्र रहेका छन । सबै केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र हालसम्म कुनै अवाञ्छित घटना नभएको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन । यस जिल्लामा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएकाले निर्धक्क भएर मतदान गर्न आम मतदातालाई उहाँले आग्रह गर्नुभएको छ ।
यसैगरी, सबै मतदान केन्द्रमा मतदाताको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा महिलालाई सहज रुपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
निर्धारित कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने भएकाले सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले सबै मतदातासँग अनुरोध गरेको छ ।