• २१ फागुन २०८२, बिहिबार

सल्यानमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सुरु

blog

दार्मा गाउँपालिका–१, दार्माकोटस्थित माविमा बिहानैदेखि मतदानका लागि लाइनमा बसेका मतदाता। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २१ गते ।
सल्यानमा बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा बिहानैदेखि कर्मचारीहरू आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहेका छन्।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा कुल ११७ मतदान स्थल, २०५ स्थायी मतदान केन्द्र र तीन अस्थायी मतदान केन्द्र गरी जम्मा २०८ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनका लागि ४३० मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित कुल १ हजार २३० कर्मचारी परिचालन गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले सम्पूर्ण तयारी पूरा भइसकेको र ठीक बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको जानकारी दिनुभयो।

जिल्लामा कुल १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्। सल्यानमा १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाको विशेष व्यवस्था गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका टोली १३ स्थानमा खटिएका छन्। १ हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य संख्यामा परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले जिल्लाभर पैदल, मोटरसाइकल तथा अन्य सवारी साधनमार्फत नियमित गस्ती गरिरहेका छन्।

जिल्लामा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा निर्वाचन सुरक्षा संयोजन गरिएको छ। प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले हालसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको जानकारी दिनुभयो। विशेषगरी दुर्गम तथा पहाडी भेगमा सुरक्षा चुनौती हुन सक्ने आकलन गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायले तयारीलाई थप चुस्त बनाएको जनाइएको छ।

राजनीतिक दलतर्फ नेपाली कांग्रेसका केशबहादुर विष्ट, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गुलाबजंग शाह, नेपाल कम्युनिष्ट पार्टीका रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्छ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेसनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदास विक, जनमोर्चा नेपालकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा चुनावी मैदानमा हुनुहुन्छ। स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहनुभएको छ।