गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अर्थात् फागुन २० गते बजारका लागि कालो दिन भन्दै बजारबाट हुने सबै कारोबार बन्द गरेको छ । समितिका अनुसार २०६८ फागुन २० गते कालीमाटी तरकारी बजारमा भएको भीषण आगलागीपछि यही दिनलाई कालो दिन मानेर हरेक वर्ष फागुन २० गते बजार बन्द गरिँदै आएको र यस पटक पनि त्यसैको निरन्तरता हो ।
बुधबार कुनै पनि कारोबार नहुने भएकाले समितिले हरेक दिनको मूल्यसूचीसमेत प्रकाशित नगरेको समितिका सूचना अधिकार विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले २०६८ साल फागुन २० गते बजारमा आगलागीका कारण भएको जनधनको क्षतिको दुःखद स्मरण गर्दै कालीमाटीका व्यवसायीले यस दिनलाई कालो दिन मान्ने हुनाले बजार बन्द गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दिनको घटनामा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुरक्षाकर्मी हिराबहादुर पुन, उहाँका तीन छोराछोरी, धादिङका पूजन मिजार र बाराका ओमप्रकाश जैसवालको मृत्यु भएको थियो ।
यस्तै सो घटनामा सुरक्षा गार्ड हिराबहादुरकी श्रीमती हिक्का पुनसहित बजारमा भरियाको काम गर्ने गोरखाका बलबहादुर श्रेष्ठ घाइते हुनुभएको थियो । बजारको बहुउद्देश्यीय भवनमा भएको आगलागीमा परी गोदाममा भएका तरकारी, मसलाजन्य वस्तु नष्ट भएको थियो । तीन सय तरकारी पसल र त्यहाँका व्यापारीको लाखौँ बराबरका सामान खरानी भएका थिए भने दाल, सिमी जस्ता सामानको गोदाम भएकाले आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो ।