• २१ फागुन २०८२, बिहिबार

‘मतदान गर्नु अधिकार र दायित्व’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २१ गते । भदौ २३ र २४ गतेको आन्दोलनपछि अपर्झट घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन देशभर एकै पटक बिहीबार हुँदै छ । आन्दोलनपछिको छोटो अवधिमा तोकिएकै मितिमा निर्वाचन हुन लागेको हो । भदौ २७ गते तत्कालीन प्रतिनिधि सभा विघटनपछि राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गर्नुभएको थियो । आन्दोलनपछि लामो समयसम्म राजनीतिक संवादहीनता भए पनि उम्मेदवारी मनोनयनसँगै दलहरू निर्वाचनमा होमिएका हुन् । 

प्रतिनिधि सभामा २७५ सदस्यका लागि मिश्रित निर्वाचन प्रणालीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट १६५ जना र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० जना निर्वाचित हुने छन् । १६५ निर्वाचन क्षेत्रमा नै बिहीबार एकै चरणमा निर्वाचन हुँदै छ । निर्वाचन आयोगले व्यवस्थापकीय रूपमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । यस्तै आयोगले मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई अपिलसमेत गरेको छ । 

प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन् । यस्तै समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दल प्रतिस्पर्धामा छन् ।  आयोगको अन्तिम नामावली अनुसार २७५ सदस्यका लागि हुने निर्वाचनमा छ हजार ५४० उम्मेदवार चुनावी मैदानमा छन् । अन्तिम नामावली प्रकाशनपछि आयोगले एक जनाको उम्मेदवारी खारेज गरेको थियो । जस अनुसार प्रत्यक्षमा तीन हजार ४०५ र समानुपातिकमा तीन हजार १३५ उम्मेदवार कायम छन् । 

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । जसमा पुरुष ९६ लाख ६३ हजार ३५८ तथा महिला ९२ लाख ४० हजार १३१ जना रहेका छन् । अस्थायी मतादाता एक लाख ८६ हजार १४२ तथा अन्य मतदाता दुई सय रहेका छन् । 

निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको आयोगले जनाएको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरीसमेत खटिएका छन् । सूचना सङ्कलन प्रयोजनका लागि राष्ट्रिय अनुसन्धान विभाग पनि परिचालन भएको छ । सुरक्षार्थ सेनाका ७९ हजार ७२७, प्रहरीका ७५ हजार ७९६, सशस्त्र प्रहरीबाट ३४ हजार ५७६ जनशक्ति खटिएका छन् । यस्तै एक लाख ४९ हजार निर्वाचन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जनशक्ति परिचालन गरिएको छ  । अति संवेदनशील र निर्वाचन सुरक्षा जोखिम औँल्याइएका क्षेत्रमा विशेष फोर्ससमेत परिचालन हुने छ । 

विगतमा निर्वाचनमा समेत सुरक्षा संवेदनशीलता बढी देखिएको क्षेत्रमा ‘ब्याकअप फोर्स’ परिचालनका लागि तयारी अवस्थामा रहने छ । सुरक्षा निकायका उच्च अधिकारीको प्रत्यक्ष कमान्डमा निर्वाचन सुरक्षाको प्रबन्ध सरकारले मिलाएको छ । निर्वाचनका लागि दुई लाख १५ हजार कर्मचारी प्रत्यक्ष रूपमा संलग्न छन् । देशभर निर्वाचनका लागि १० हजार ९६७ मतदान स्थल कायम छन् । मतदान केन्द्र २३ हजार ११२ कायम छन् । अस्याथी मतदाताका लागि १४३ मतदान केन्द्र स्वीकृत भएका छन् ।  

मताधिकार प्रयोग गर्न अपिल

मतदानको पूर्वसन्ध्यामा आयोगले आफ्नो संवैधानिक हक प्रयोग गर्न अपिल गरेको छ । बुधबार प्रेस ब्रिफिङमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मताधिकार प्रयोग गर्नु लोकतन्त्रप्रतिको जिम्मेवारी भएको पनि बताउनुभयो । अपिलमा उहाँले भन्नुभयो, “निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । 

लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो । आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक कानुनी अधिकार मात्र होइन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो । निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि चुन्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा अप्रत्यक्ष संलग्न हुने अवसर हो । 

यो प्रक्रियाको पूर्णताले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पु¥याउने भएकोले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ ।”