शंकर केसी
सल्यान, फागुन २० गते । सल्यान जिल्लामा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत मतगणनास्थल निर्माण गरिएको छ । मतदानको सम्पूर्ण तयारि भैसकेको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम खलङ्गास्थित जिल्ला समन्वय समितिको ठूलो हलमा मतगणनास्थल तोकिएको जनाएको हो ।
मतगणना स्थलमा सुरक्षा र पारदर्शितालाई उच्च प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार हल परिसरमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । समन्वय हल नजिकै मालपोत कार्यालय प्रवेश गर्ने बाटो र जिल्ला समन्वय कार्यालय प्रवेश गर्ने स्थानमा क्यामेरा राखिएको छ भने हलका दुवै ढोकाबाहिर र हलभित्र पुरै क्षेत्र देखिने गरी दुईवटा क्यामेरा जडान गरिएको छ ।
मतगणना स्थल वरिपरि ग्याविनको करिब साढे ६ फिट अग्लो तारजाली लगाइएको छ । त्यस माथि मसिनो जाली थपेर करिब १० फिट अग्लो सुरक्षा घेरा तयार गरिएको छ । गणना कार्य सहज बनाउन हलभित्र भुइँमा म्याट्रेस बिछ्याइएको छ ।
कार्यालयका अनुसार मतगणना सिफ्ट प्रणालीमा सञ्चालन गरिनेछ । प्रत्येक सिफ्टमा मुख्य गणना अधिकारीसहित ६ जना जनशक्ति खटिनेछन् । मुख्य गणना अधिकारीका रूपमा मुख्य निर्वाचन अधिकृत रहनुहुनेभएको छ भने एक जना गणना अधिकारी, दुई जना गणक, एक जना कम्प्युटर अपरेटर र एक जना सहयोगी रहने व्यवस्था गरिएको छ । खटिने जनशक्तिलाई मतगणना अघि अभिमुखीकरण पनि गरिने मुख्य निर्वाचन अधिकृत योगीले बताउनुभयो ।
मतगणना निर्देशिका तथा निर्वाचन आयोगबाट हालै प्राप्त २९ बुँदे मार्गदर्शनका आधारमा मतगणना कार्य हुनेछ । मतपेटिका मतगणना स्थलमा आइपुग्न राति १२ वा १ बज्न सक्ने आंकलन गरिएको छ । त्यसैले फागुन २२ गते बिहानसम्म सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेपछि मात्र मतगणना कार्य अघि बढाइने सम्भावना रहेको छ ।
जिल्लाका केही दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न विशेष व्यवस्था गरिएको छ । उत्तरतर्फ दार्मा, दक्षिण पश्चिमतर्फ कालिमाटीकाको दमदुवाली, र्याङ, काफलगैरी, सितलपुर तथा बनगाड कुपिण्डे नगरपालिकाको दुरुमखोला क्षेत्रबाट मतपेटिका ल्याउन भौगोलिक अवस्थाका कारण केही कठिन अवस्था रहेको जनाइएको छ । केही स्थानमा मतपेटिका बोकेर गाडी चल्न सक्ने स्थानसम्म पुर्याउनु पर्ने स्थिति रहेको छ ।
मतपेटिकाहरु मतदान अधिकृत, दलका प्रतिनिधि, सुरक्षाकर्मी सहित नेपाली सेनाको बाह्य स्कर्टिङमाफर्तल सदरमुकाम ल्याइने व्यवस्था मिलाइएको छ । हाल सवारी साधनमार्फत नै मतपेटिका संकलन गर्ने तयारी रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै विशेष परिस्थितीमा आवश्यक परेमा हेलिकप्टर वा अन्य कसाधनको व्यवस्थाका लागि माथिल्लो निकायमा अनुरोध गर्न सकिनेछ ।
मतगणनाबाट प्राप्त परिणाम सार्वजनिक गर्न खलङ्गा बजार क्षेत्रमा डिस्प्ले बोर्डमार्फत प्रत्यक्ष देखाउने व्यवस्था मिलाइँदैछ । प्राविधिक कर्मचारीहरूले यसको व्यवस्थापन गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत योगीका अनुसार जिल्लाभर मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको छ । निर्धारित मापदण्ड र सुरक्षा प्रबन्ध गरेर पारदर्शी ढंगले मतगणना सम्पन्न गरिने उनको भनाइ छ ।
जिल्लामा १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने एक लाख ६२ हजार ४४९ मतदाता छन् । यस निर्वाचनमा सल्यानबाट राजनीतिक दलका १२ जना तथा दुई जना स्वतन्त्र उम्मेदवार गरी १४ जना प्रतिस्पर्धामा छन् ।
सल्यान जिल्लामा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र कायम गरिएको छ । जिल्लाभरका मतदान केन्द्रका लागि ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत नियुक्त गरी खटाइएको छ । निर्वाचनका लागि सल्यानमा नेपाली सेनाको टोली विभिन्न १३ स्थानमा खटिएको छ भने एक हजार ४०६ जना निर्वाचन प्रहरीसहित करिब एक हजारको सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । यहाँका एक सय १७ मतदान स्थलमध्ये ४३ वटालाई अति संवदेनशील सूचीमा राखिएको छ भने ५७ मतदान स्थल संवेदनशील रहेका छन् ।