• २० फागुन २०८२, बुधबार

धनकुटामा निर्वाचन तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

blog

मतदानका लागि तयारी गरिएको धनकुटाको हिलेस्थित हिले मतदान केन्द्र ।

कविराज घिमिरे 

हिले, फागुन २० गते । प्रतिनिधि सभा निर्वाचनका लागि बिहीबार हुने मतदानको धनकुटामा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा १८ गतेनै पुगेर आबश्यक तयारी थालेका थिए। बुधबार बुथ निर्माणको काम सकिएसँगै तयारी पूरा भएको धनकुटाका  मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनुभयो । 

मतदान केन्द्रमा खटिएका कर्मचारीले केन्द्र पुगेर मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार निशेध गर्ने सूचना जारी गर्ने, मादक पदार्थ बिक्री वितरण र सेवन निषेधको सुचना र हातहतियार निषेधको सूचना जारी सर्वदलिय बैठक तथा बुथ निर्माण स्वयमंसेवक नियुक्ति लगायतको काम गरिएको छ । 

धनकुटामा प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ । उक्त क्षेत्रमा १ सय १९ मतदान स्थल अन्तर्गत १ सय ६६ मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक जनशक्ति परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । तीमध्ये ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेका छन् । निर्वाचनमा पुरुष, महिला तथा अन्य लिङ्गका मतदातालाई सहज रूपमा मतदान गर्न मिल्ने गरी केन्द्र व्यवस्थापन गरिएको छ । मतदानमा जेष्ठ नागरिक, अशक्त, फरक क्षमता भएका तथा गर्भवती तथा क्रियापुत्रीलाई लाइन बस्न नपर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालय धनकुटाका सुचना अधिारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । 

मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने वातावरण सुनिश्चित गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । निर्वाचन प्रहरी सहित नेपाल प्रहरी मतदान केन्द्रमा रहने, त्यसको बाहिर घेरामा सशस्त्र प्रहरी र त्यो भन्दा बाहिर नेपाली सेनाको सुरक्षा रहने उहाँको भनाइ छ । 

धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन कार्यालयले मतदातालाई तोकिएको समयभित्र आफ्नो मतदान केन्द्रमा उपस्थित भई ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ । जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।