• २० फागुन २०८२, बुधबार

मत गणना स्थलमा तारजालीसहित सिसी टीभी जडान

blog

भुटनदेवी माविमा तारजालीसहित निर्माण गरिएको मत गणना स्थल । तस्बिर : अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, फागुन २० गते । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना भुटनदेवी माविमा गर्न लागिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । 

मकवानपुर जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणना विद्यालयको ‘ए’ ब्लक भवनमा र क्षेत्र नं. २ को मतगणना ‘बी’ ब्लक भवनमा गरिने उहाँले जानकारी दिनुभयो । मतगणनाका लागि चार वटा कोठा तयार पारिएको छ । निर्वाचन क्षेत्र नं १ र २ का लागि दुई दुई वटा कोठा तयार पारिएको हो । सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणनाको मिति र समय प्रकाशन गरिने छ । 

मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सिसी टिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो । मतगणना स्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उहाँले जानकारी दिनुभयो ।

सञ्चारकर्मीका लागि भुटनदेवी विद्यालयमै मिडिया सेन्टर पनि राखिएको छ । भुटनदेवी माविको भवनमा मतगणना गर्न लागिएको यो पहिलो पटक हो । यसअघि मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माविमा मतगणना गरिँदै आएको थियो । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक लाख ५३ हजार ३७६ महिला र एक लाख ६१ हजार ९५३ पुरुष गरी कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जिल्लाभर १६७ मतदान स्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँ दल तथा स्वतन्त्र उम्मेदवारसहित ४४ जनाको उम्मेदवारी कायम रहेको जनाइएको छ ।