तेहरान, फागुन २० गते । आयातुल्ला अली खामेनीको अमेरिका र इजरायलको आक्रमणमा मृत्यु भएपछि इरानले नयाँ सर्वोच्च नेता नियुक्त गर्ने प्रक्रिया छिट्टै अघि बढाइरहेको छ । नेतृत्व विशेषज्ञ सभाका सदस्य अहमद खातमीले सरकारी टेलिभिजनलाई भन्नुभयो, “हामी सबै प्रयास गरिरहेका छौँ । ईश्वरको इच्छा भए, नेतालाई चाँडै नै नियुक्त गरिने छ । स्थिति युद्धको अवस्था भएकाले विवेक आवश्यक छ ।”
इरानी मिडियाका अनुसार अमेरिका र इजरायली हमलाले मङ्गलबार पवित्र सहर कोमको विधानसभासँग सम्बन्धित भवनलाई लक्षित गरेको थियो । यसअघि तेहरानस्थित निकायको मुख्य मुख्यालयलाई आक्रमण गरिएको थियो । खामेनीको सन् १९८९ देखि इरानको नेतृत्व रहेको थियो र उहाँको मृत्युको एक दिनपछि आधिकारिक रूपमा नेतृत्व परिवर्तन प्रक्रिया सुरु भएको हो ।
विशेषज्ञ सभामा ८८ जना सदस्य रहेका छन् । उनीहरू प्रत्येक आठ वर्षमा निर्वाचित हुन्छन् । यसैबिच, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, कट्टरपन्थी न्यायपालिका प्रमुख घोलामहोसेन मोहसेनी एजेई र धर्मगुरु सदस्य अलिरेजा अराफीले अन्तरिम नेताको रूपमा काम गरिरहनुभएको छ । रासस/एएफपी