• २० फागुन २०८२, बुधबार

गृहमन्त्रीद्वारा तार्केश्वरका मतदान स्थलको अनुगमन, ढुक्क भएर मतदान गर्न आग्रह

blog

काठमाडौँको तार्केश्वरको मतदान स्थलको अनुगमन गर्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल। तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन २०  गते । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित काठमाडौँको तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौँ क्षेत्र नं ६ का मतदान स्थलको अनुगमन गर्नुभएको छ । बुधबार गरिएको अनुगमनका क्रममा उहाँले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।

अनुगमनमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिनुभयो ।

मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै समन्वयको कामलाई प्रभावकारी बनाइएको छ ।

निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचनअघि, निर्वाचनका अवधिमा र निर्वाचनपश्चात् मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन 'प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२' अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।