• २० फागुन २०८२, बुधबार

मतदान केन्द्र निर्माण सम्पन्न

blog

सदरमुकाम चरीकोटको कालिञ्चोक माध्यमिक विद्यालयमा निर्मित मतदान स्थल । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, फागुन २० गते ।बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाको सदरमुकाम चरीकोटको कालिञ्चोक माध्यमिक विद्यालय मतदान स्थल निर्माण सम्पन्न भएको छ ।

निर्वाचनका लागि यहाँका ९५ वटा मतदान स्थल निर्वाचन प्रहरीको सहायतामा मतदान स्थलहरू निर्माण सम्पन्न भएका बताइएको छ ।

बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि स्थल निर्माणको काम सम्पन्न भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कालिञ्चोक मावि मतदान स्थलमा लाइन बनाउनेदेखि डाेरी टाङ्नेसम्मको काम सम्पन्न भएको छ । महिला, पुरुष, अशक्तहरूका लागि छुट्टाछुट्टै बुथ बनाइको छ । यो मतदान स्थलमा क र ख केन्द्र रहेका छन् । क केन्द्रमा एक हजार आठ र ख केन्द्रमा एक हजार १९ मतदाता रहेका छन् । स्वयंसेवक सहित एक हजार ८६७ जना कर्मचारी खटिएका छन् ।

 दोलखामा ९५ वटा मतदान स्थलमा २०७ वटा केन्द्र र सदरमुकाममा दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । एक लाख ७० हजार २३१ मतदाता रहेका दोलखामा भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा मजबुत बनाइएको छ ।

 जिल्लामा ८५० जना नेपाली सेना, नेपाल प्रहरी ६३३, निर्वाचन प्रहरी एक हजार ३०४, सशस्त्र प्रहरी बल १४६ र सशस्त्रकै ४४ जना  निर्वाचन प्रहरी तैनाथ भएका छन् ।