लीलाधर ओली
घोराही, फागुन २० गते । दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणनाका लागि सिसी क्यामेरा र तारजालीसहित गणनास्थल तयार पारिएको हो ।
फागुन २१ गते हुने निर्वाचनको मतगणनाका लागि निर्वाचन क्षेत्र नं. १ को लमही नगरपालिकाको हल, क्षेत्र नं. २ को घोराहीस्थित जिल्ला अदालतमा र क्षेत्र नं.३ को तुलसीपुरस्थित उच्च अदालतमा मतगणनास्थल तयार गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभएको छ ।
मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित बनाउनका लागि मतगणनास्थललाई तारजालीले बार्नका साथै सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताउनुभयो ।
उहाँका अनुसार तारजालीभित्र मत गणक कर्मचारी बस्ने र तारजालीको बार बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ ।
मतगणनास्थलमा हुन सक्ने समस्यालाई मध्यनजर गरेर तारजाली र क्यामेरा जडान गरिएको भन्दै मुख्य निर्वाचन अधिकृत पण्डितले भन्नुभयो,‘मतगणना सुुरु भएपछि गणनास्थलको सुरक्षा व्यवस्था कडा पारिने छ । मतपत्रको सुरक्षाका लागि फलामे तारजाली र सिसी क्यामेराको व्यवस्था गरेका छौ ।’
मतदान सकिएको करिव २ देखि ३ घण्टाभित्र मतपेटिका मतगणनास्थल ल्याउने गरि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ९८ वटा यातायातका साधनहरू तयार गरिएको उहाँले बताउनुभएको छ । जसमा जिप, मिनी बस र बसहरू रहेका छन् ।