बाजुरा समाचारदाता
बाजुरा, फागुन २० गते । बाजुराका मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा रहेका ७७ स्थल र ११८ मतदान केन्द्र र एक अस्थायी गरेर ११९ मतदान केन्द्रमा कर्मचारी सुरक्षाकर्मीसहित सुरक्षा सामग्रीसमेत पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
बुढीनन्दा नगरपालिका–४, देवडाँडा मावि मतदान अधिकृत राजबहादुर भण्डारीले मतपेटिका बाकस, मसी, स्ट्याम्प प्याड, मतपत्र, स्केल, कलमलगायतका निवार्चन सामग्री बुझेर मतदान केन्द्रमा पुगिसकेको बताउनुभयो । उहाँले भन्नभुयो, “हामीले मतदान केन्द्रमा पुगेर अहिले निर्वाचनका लागि आवश्यक काम गरिरहेका छौँ । अहिले अनुसूची ३, ४ , ५ , ६ र ७ समेत टाँस गरेका छौँ ।”
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी अहिले यहाँ सर्वपक्षीय बैठकसमेत बसिसकेको छ । यहाँ दुई वटा मतदान केन्द्र छन् ।(क) मा ५६० र (ख) मा ६११ मतदाता सङ्ख्या रहेको भण्डारीले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जिल्लाका ११९ मतदान केन्द्रमध्ये ११६ मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको र यहाँको नजिकमा रहेको बडीमालिकामा रहेका दुई स्थायी र एक अस्थायी केन्द्रको सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रहेको बताउनुभयो ।
उहाँले भन्नभुयो, “बाजुराको निर्वाचनको सबै प्रकिया पूरा भएको छ । यहाँका सबै मतदान केन्द्रमा निर्वाचनका लागि चाहिने आवश्यक कर्मचारी सुरक्षाकर्मीसमेत मतदान केन्द्रमा खटिएका छन् ।”
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरेर यहाँका धेरै ठाउँमा आजदेखि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका संयोजक पोखरेलले बताउनुभयो । बाजुरामा मतदाता सङ्ख्या ८७ हजार ८६१ रहेको छ ।