• २० फागुन २०८२, बुधबार

दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण

blog

जैमिनी नगरपालिका–३ दमेकमा निर्माण गरिएको कृषि सङ्कलन केन्द्र। तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), फागुन २० गते ।
स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका–३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ। वडा नं. ३ ले आर्थिक वर्ष ०८२/०८३ मा तीन लाख १२ हजार रुपियाँ बजेट विनियोजन गरी केन्द्र निर्माण गरेको हो।

दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायतका सामग्री सङ्कलन गर्ने उद्देश्यले भवन निर्माण गरिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो।

“हाम्रो उद्देश्य यहाँको स्थानीय उत्पादन सङ्कलन गर्ने हो। वडा नं। ३ मा उत्पादित सामग्री यहीँ सङ्कलन गरिन्छ, त्यसपछि नगरपालिकाको कृषि एम्बुलेन्समार्फत बजारमा बिक्रीका लागि पठाइन्छ,” उहाँले भन्नुभयो। “कृषि सामग्री सङ्कलनका लागि घर–घर जान नपरोस् भन्ने उद्देश्यले केन्द्र निर्माण गरिएको हो।”

कृषि सङ्कलन केन्द्र नहुँदा उत्पादनले उचित बजार नपाएको उहाँको भनाइ छ। “अब यसले यहाँका कृषकलाई आम्दानीसँग जोड्न सहयोग गर्नेछ,” उहाँले थप्नुभयो।

स्थानीय भैरवप्रसाद सापकोटाले सङ्कलन केन्द्र अत्यावश्यक रहेको बताउनुभयो।

५७ वर्षीय सापकोटाले भन्नुभयो, “यो यहाँ अत्यन्तै आवश्यक थियो। उपयुक्त स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको छ।” उहाँले केन्द्र निर्माणप्रति खुसी व्यक्त गर्नुभयो।

कृषि पेशामा संलग्न सापकोटाका अनुसार यसले गाउँका कृषकलाई ठूलो सुविधा पुगेको छ। “हामीले उत्पादन गर्ने सामग्री यहीँ सङ्कलन गर्छौँ र गाडीमार्फत बजारसम्म पठाइन्छ,” उहाँले भन्नुभयो। “यस क्षेत्रमा विशेषगरी आलु र भाँगो उत्पादन हुन्छ। सङ्कलन केन्द्र निर्माणसँगै राम्रो बजार मूल्य पाउने अपेक्षा गरेका छौँ।”