• २० फागुन २०८२, बुधबार

गजेन्द्र नारायण सिंह अस्पतालमा निर्वाचन लक्षित आरआरटी टीम गठन

blog

गजेन्द्र नारायण सिंह अस्पताल । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, फागुन १९ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गजेन्द्र नारायण सिंह अस्पतालले इमर्जेन्सी स्वास्थ्य सेवालाई थप सुदृढ बनाउन ‘रेपिड रेस्पोन्स टीम’ (आरआरटी) गठन गरेको छ ।

अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंहदरबार, काठमाडौँलाई पत्राचार गर्दै निर्वाचनको दिन आकस्मिक उपचार सेवा प्रभावकारी, छरितो र अवरोधविहीन बनाउन विभागीय प्रतिनिधिहरू सम्मिलित विशेष टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार निर्वाचनका दिन आवश्यक औषधी, उपकरण तथा मानव संसाधन तयारी अवस्थामा राखिनेछ । आपतकालीन अवस्था सिर्जना भएमा नियमित अन्तरङ्ग सेवामा असर नपर्ने गरी चिकित्सक, नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीहरू तत्काल इमर्जेन्सी सेवामा परिचालित हुने व्यवस्था मिलाइएको छ ।

गठित आरआरटी टीममा डा. सन्दीप कुमार शाह (प्रमुख) र डा. अमित कुमार यादव (कोर्डिनेटर)सहित विभिन्न विभागका चिकित्सक तथा कर्मचारीहरू समावेश छन् । अस्पताल सुरक्षा टोलीसमेत तयारी अवस्थामा रहने जनाइएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा. अवधेश कुमार मिश्रका अनुसार निर्वाचन अवधिभर स्वास्थ्य सेवा निरन्तर, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन हुने सुनिश्चितता गरिएको बताउनुभयो । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन स्वास्थ्य क्षेत्रबाट आवश्यक सम्पूर्ण सहयोग रहने अस्पतालले जनाएको छ ।