• १३ असार २०८१, बिहिबार

सत्ता पक्षकै सांसदहरुद्वारा प्रदेशसभा बैठक वहिस्कार

blog

माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्मा प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्नुहुँदै ।

मुना हमाल

सुर्खेत, साउन ३ गते । कर्णाली प्रदेश सभाको मंगलबारको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका छन् । सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका हुन् ।

कर्णालीमा काँग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धन सरकार छ । दशौँ अधिवेशनको छब्बिसौं बैठक मंगलबार सुरु भएलगत्तै माओवादी केन्द्रका प्र्रदेशसभा सदस्यहरुले सभामुखसँग बोल्ने समय मागेका थिए । 

प्रदेशसभा सदस्य गोपाल शर्माले समय मागेर सरकार एकलौटी हिडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाउनुभयो । यस्तो अवस्थामा प्रदेशसभाका कुनै पनि कामकार्वाहीमा सहभागि हुन नसक्ने उहाँले बताउनुभयो ।   

उहाँले भन्नुभयो, ‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण वेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो ।’ यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको उहाँले टिप्पणी गर्नुभयो । 

अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रि गराएको उहाँले आरोप लगाउनुभयो ।

सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहिन बनेको, शान्ति पूनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचिमा पर्न नसकेको उहाँको गुनासो छ । 

सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेर बाहिरिएपछि आधा घण्टाका लागि प्रदेश सभाको बैठक स्थगित भएको थियो ।