• २८ वैशाख २०८१, शुक्रबार

कोरोना बढेपछि झापामा उच्च सतर्कता

blog

झापाको काँकडभिट्टा नाका प्रवेशद्वार । फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, साउन २ गते। झापामा कोरोना सङ्क्रमणदर बढ्न थालेको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिले तत्काल यसको रोकथामका लागि सबै प्रकारका आवश्यक तयारी गर्ने र सय बेडको होल्डिङ सेन्टरलाई दुरुस्त राख्ने निर्णय गरेको छ।

‘नेपालको पूर्वी नाका मेचीनगरको दुवागढीस्थित निर्माण अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरमा कम्तिमा १ सय बेड नेपाली सेनाले तयारी अवस्थामा राख्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो। महामारी फैलिनसक्ने भएकाले यसको रोकथामका लागि काम सुरु भइसकेको उहाँको भनाइ छ। 

जिल्ला स्वास्थ्य कार्यालयले कोभिड-१९ को सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषण गरेर जिल्लामा आवश्यक पर्ने औषधि, मास्क, परीक्षण गर्ने किट, भि.टि.एस. लगायत अन्य सामाग्रीको मौज्दात व्यवस्थापन गर्ने निर्णय भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोभिड-१९ विरूद्धको बुष्टर खोप लगाउन बाँकी सबैलाई अनुरोध गर्ने समितिको निर्णय छ।

झापाको काँकरभिट्टास्थित प्रवेश नाकामा मेचीनगर नगरपालिकामा दातृ संस्था तथा कोरोना सङ्क्रमण रोकथाममा सहयोग गर्दै आएका संस्था र नेपाल रेडक्रस सोसाइटी, झापा शाखाले आपसमा समन्वय गरेर कोभिड-१९ को परीक्षणलाई प्रभावकारी बनाउने भएका छन्।