• २९ वैशाख २०८१, शनिबार

बाबुरामजी गठबन्धनप्रति प्रतिबद्ध हुनुहुन्छ : दाहाल

blog

काठमाडौं, साउन ३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुङ्गोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ। 

मङ्गलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको विषयमा बिहीबारसम्ममा टुङ्गोमा पुग्नुपर्नेमा जोड दिनुभएको हो। 

उहाँले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताउनुभयो। गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उहाँको भनाइ छ। 

‘‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन। गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ। गठबन्धन बनाउने बारे अरु पार्टी सँग पनि कुरा गरौँ। पर्सीसम्म  एउटा टुङ्गोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो’’, भेटपछि दाहालले भन्नुभयो।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताउनुभयो। उहाँले आफूहरु गठबन्धन लिएर जाने पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘कांग्रेसले निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो छैन। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ। यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको।’’

अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उहाँ गठबन्धनमै रहेको स्पष्ट पार्नुभयो। भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको अध्यक्ष दाहालको भनाइ छ।