• २८ वैशाख २०८१, शुक्रबार

नापी भएको छ वर्षपछि लालपुर्जा

blog

भक्तिविलास पोखरेल 

गाईघाट, साउन ३ गते । नापी कार्यालय उदयपुरले स्थानीयले भोगचलन गर्दै आएको तर गाउँ ब्लकमा रहेका जग्गा व्यवस्थित गर्ने भन्दै सम्बन्धित जग्गाधनीलाई सोमबारदेखि लालपुर्जा वितरण गर्न सुरु गरेको छ । झन्डै छ वर्ष पहिले नै नाप जाँच गरी तयार पारिएको भए पनि सम्बन्धित जग्गाधनीले जग्गाको स्वामित्व नपाएको अवस्थामा सोमबार आयोजित एक कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले वडा नम्बर १२ का दुई जना जग्गाधनीलाई संयुक्त रूपमा लालपुर्जा वितरण गरेर सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा प्रमुख बस्नेतले नापी कार्यालय, मालपोत कार्यालय राष्ट्रिय भूमि आयोग र नगरपालिकाको समन्वय भयो भने मात्र जग्गा सम्बन्धी समस्याको सही रूपमा समाधान हुने बताउनुभयो । “सडक, बाटो, कुलो, पैनीलगायतका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,” उहाँले भन्नुभयो । वास्तविक समस्यामा परेका व्यक्तिलाई जग्गाको मालिक बनाउने आफुहरूको चाहना रहेको उहाँले बताउनुभयो । 

त्यसैगरी उपप्रमुख राईले जनताको सेवक भएर आपूmहरू नगरपालिकामा आएको भन्दै सेवा ग्राहीलाई विभिन्न स्थानबाट यस्तो गर्मीको मौसममा एक ठाउँमा ल्याएर सेवा दिनुभन्दा वडा–वडामा गएर पुर्जा वितरण गर्न सम्बन्धित कार्यालयका कर्मचारीहरूलाई आग्रह गर्नुभयो । 

सो कार्यक्रममा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बलबहादुर तामाङले अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्न आपूmहरू नियम सङ्गत ढङ्गबाट लागि परेको भन्दै साउनको अन्तिम सातासम्ममा आयोगबाट पुर्जा वितरणको काम थालनी गरिने जानकारी दिनुभयो । लालपुर्जा प्राप्त भएकोमा त्रियुगा नगरपालिका–१२ का इन्द्रबहादुर दनुवार र मङ्गलबहादुर दनुवारले झन्डै छ वर्ष पहिले नाप जाँच गरी तयार गरेको पुर्जा पाउँदा आफुहरू खुसी भएको बताउनुभयो । 

नापी कार्यालयले साबिकको गाईघाट,भुमरसुवा,देउरी र जोगिदह क्षेत्रका करिब एक हजार घर धुरीलाई लालपुर्जा वितरण गर्ने गरी कामको थालनी गरेको नापी कार्यालय उदयपुरका प्रमुख लालबाबु यादवले बताउनुभयो । उहाँले साउन १३ गते शुक्रबारसम्म त्रियुगा नगरपालिका क्षेत्रभित्र यस किसिमका पुर्जा वितरण गरिने सो अवसरमा जानकारी दिनुभयो ।