यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), फागुन ८ गते । बहुवर्षीय स्रोत सुनिश्चितता नभएको कारणले निर्माण प्रक्रिया रोकिएको जब्दीघाट पुल अहिले सम्पूर्ण राजनीतिदलका उम्मेदवारहरू चुनावी एजेण्डा बन्न पुगेको छ । गुलरिया र बारबर्दियाका मतदाताहरूसँग उम्मेद्वारहरू पुल निर्माण गर्ने बाचा राख्दै भोट माग्दै आएका छन् ।
पुल निर्माण भई हस्तान्तरण नहुँदै २०७४ को बाढीमा पुल भासिएको थियो । २०७९ को बाढीमा पुल पुर्णरुपमा क्षती भएको थियो । २०७४ यता जब्दीघाटको पुल चुनावी एजेण्डा बन्दै आएको छ । प्रायः सबै राजनीतिक दलहरूको चुनावी प्रतिवद्धतामा जब्दीघाटमा पुल निर्माण गर्ने विषय समेटिने गरेको छ । पुल निर्माण प्रक्रिया मै रहँदा समेत राजनीतिक दलले पुललाई एजेण्डा बनाइरहेका छन् ।
सरकारले अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । २०८१ पुषमा बहुवर्षिय स्रोत सुनिश्चिता दिएको भएपनि पुल निर्माणका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाउनु पर्ने इस्ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट समयमा नबन्दा गत आर्थिक वर्षमा पुल निर्माणको ठेक्का प्रक्रिया सुरु हुन सकेन ।
आर्थिक वर्ष परिवर्तन भएपछि योजना आयोग र अर्थमन्त्रालय मार्फत पुनः वहुवर्षिय स्रोत सुनिश्चितता हुनुपर्ने भएकाले पुल निर्माण प्रक्रिया अगाडि बढेको छैन । सडक डिभिजन कार्यालय नेपालञ्जका प्रमुख नरेन्द्र भट्टले भन्नुभयो, “सबै प्रक्रिया पुरा भएको छ । बहुवर्षिय स्रोत सुनिश्चितता आएमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने छौँ ।” उहाँले बहुबर्षे स्रोत सहमतिको लागि अर्थमन्त्रालय सम्म फाइल पुगेको बताउनुभयो ।
पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रकम विनियोजन गरेको छ । गत आर्थिक वर्षमा पुल ठेक्का खोल्न सकिएको भए हाल डिजाईन र निर्माण सुरु हुने थियो । पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकम लाग्ने अनुमान गरिएको छ । गत वर्ष सरकारले एक करोड रकम पुल निर्माणका लागि बिनियोजन गरेको थियो ।
जब्दीघाट पुल निर्माणका लागि बजेट आएपनि निर्माण प्रक्रिया सुरु नहुँदा बर्दियाबासीहरू निराश भएका छन् । बजेट सुनिश्चितता भएपछि पुलको काम सुरु हुन्छ भन्ने सोचेको थिएँ बारबर्दिया नगरपालिका वडा नं ५ का वडाध्यक्ष लालबहादुर चौधरीले बताउनु भयो । पुल नहुँदा २० मिनेटको बाटो जोखिमपुर्ण रुपमा डुङ्गा तर्दा डेढ घण्टा सम्म लाग्ने गरेको उहाँले बताउनुभयो ।
पुल निर्माणका लागि बजेट विनियोजन हुँदा समेत पुल बनाउँछु भनेर चुनावी एजेण्डा बनाएकोमा मतदाताहरू असन्तुष्टि व्यक्त गर्न थालेका छन् । “अहिले नै स्रोत सुनिश्चितता भएमा पुल निर्माण प्रक्रिया सुरु हुन्थ्यो ।” बारबर्दिया नगरपालिका वडा नं ५ की लिलि चौधरीले भन्नुभयो, “चुनाव सम्म किन कुर्नु पर्यो, भोट माग्ने बाहाना किन बनाउनु पर्यो ।” बारबर्दिया नगरपालिका वडा नं ११ जब्दीकी कान्ती चौधरीले पुल कै बाहानामा भोट माग्ने तर पुल नबनाउने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।