• ८ फागुन २०८२, शुक्रबार

बकैयामा सातौँ कला–साहित्य महोत्सव सम्पन्न

साहित्यकार शुभेच्छुसहित ११ स्रष्टा मकवानपुरमा सम्मानित

blog

सम्मान ग्रहण गर्नुहुँदै साहित्यकार डा. रमेश शुभेच्छु ।

हेटौंडा, फागुन ८ गते । साहित्यकार डा. रमेश शुभेच्छु मकवानपुरमा सम्मानित हुनुभएको छ । मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले साहित्यकार डा. शुभेच्छुलाई ‘होमनाथ–टिकामाया प्रतिभा सम्मान’ बाट सम्मानित गरेको हो ।

झरना साहित्यिक परिवारका विभिन्न पुरस्कारमध्ये प्रतिष्ठित मानिएको सो पुरस्कारको राशि २१ हजार १२१ रुपैयाँ रहेको छ । सिर्जना, समीक्षा, सम्पादन र संस्थागत विकासमा पुर्‍याउनुभएको योगदानका लागि उहाँलाई सो सम्मान प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले उहाँलाई पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै डा. शुभेच्छुले जीवनमा सम्मान र पुरस्कारभन्दा पनि सिर्जना कर्ममा लाग्न पाउनु ठुलो कुरा भएको बताउनुभयो। उहाँले भन्नुभयो, “म यो पुरस्कारको गरिमालाई जोगाएर अझ बढी योग्य बन्ने प्रयत्न गर्नेछु ।”

समारोहमा शुभेच्छुसँगै विभिन्न विधाका ११ स्रष्टालाई नगदसहित सम्मान गरिएको छ । संस्थाको ३२३ औँ साहित्य शृङ्खला, ३३ औँ वार्षिकोत्सव एवं सातौँ बकैया कला–साहित्य महोत्सवका अवसरमा स्रष्टालाई सम्मानित गरिएको हो । दुई दिनसम्म चलेको महोत्सवमा साहित्य, कला र पत्रकारिताका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गरिएको संस्थाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिनुभयो ।

सो अवसरमा ‘कुलकुमारी झलकनाथ लोकसाहित्य सम्मान–२०८२’ वरिष्ठ लोकगायक नन्दकृष्ण जोशीलाई प्रदान गरियो । ११ हजार १११ रुपैयाँ राशिको सो पुरस्कार लोकसाहित्यमा केन्द्रित रहेको अध्यक्षले बताउनुभयो । यस्तै, १५ हजार ५५५ रुपैयाँ राशिको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२’ मकवानपुरका डा. निमेष निखिललाई प्रदान गरिएको छ ।

त्यसैगरी ११ हजार १११ रुपैयाँ राशिको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२’ सञ्चारकर्मी दीपक अधिकारीलाई, ७ हजार ७७७ रुपैयाँ राशिको ‘सञ्जीवनी बुटी साहित्य सम्मान–२०८२’ अर्पण पराजुलीलाई र ७ हजार ७७७ रुपैयाँ राशिको ‘सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२’ एसआर मञ्जरी ओलीलाई प्रदान गरिएको संस्थाका सचिव नीलहरि दुलालले जानकारी दिनुभयो । ५ हजार ५०० रुपैयाँ राशिको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२’ बाँकेकी ऋचा लुइटेललाई प्रदान गरिएको छ ।

नवप्रतिभा प्रोत्साहनतर्फ ‘खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२’ सूर्य सन्न्यासी तथा ‘ऋशेश्वर रुक्मिणी लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२’ सिर्जना खनाललाई प्रदान गरिएको छ । महोत्सवका अवसरमा आयोजित चित्रकला प्रतियोगितामा मिहाजुल थोक्कर, रिषा दोङ र प्रसिद्ध राई उत्कृष्ट तीनमा पर्न सफल  हुनुभयो । प्रतियोगितामा शान्ति नेगी, ऋतु विक र इन्द्रकुमारी स्याङ्बो पनि उत्कृष्ट घोषित हुँदै पुरस्कृत हुनुभयो ।

महोत्सवमा सर्लाही, बारा, रौतहट, सिन्धुली, चितवन, लमजुङ र रुपन्देही लगायतका जिल्लाका सर्जकको सहभागिता थियो । सो अवसरमा डा. विश्वनाथ सञ्जेल, विजय दोङ, डिबी बर्तौला, धनमाया राई, सुमित्रा आचार्य, हरिप्रसाद पौडेल, केशव समर्पणलगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा लोकगायक नन्दकृष्ण जोशीले सुदूरपश्चिमका भाकाहरू प्रस्तुत गर्नुभएको थियो भने विभिन्न जातजाति र संस्कृति झल्किने सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएका थिए ।