लीलाधर वली
घोराही, फागुन ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकले पार्टीभन्दा पनि देशप्रति निष्ठा देखाउनुपर्ने समय आएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यत्तिकै छोड्ने कि बनाउने भन्ने निर्णय गर्ने समय आएकाले जनतालाई पार्टीभन्दा माथि उठ्न आग्रह गर्नुभएको हो ।
देशको परिवर्तनका लागि नागरिकको सहयोग आवश्यक रहेको भन्दै लामिछानेले भन्नुभयो, “अहिले पार्टीप्रति भन्दा देशप्रति निष्ठा देखाउनुपर्ने बेला आएकाले अन्य दलका समर्थक र सदस्यले पार्टी नछाडेरै मत बदल्ने निर्णय गर्नुपर्छ, यो परिवर्तनको आवश्यकता हो ।” जनताले क्रान्ति गर्ने निर्णय गरिसकेको बताउँदै लामिछानेले जनताको यो ऐतिहासिक निर्णय फागुन २१ पछि सार्वजनिक हुन मात्र बाँकी रहेको उल्लेख गर्नुभयो ।
देश बनाउनका लागि यस पटक सरकार चलाउने जिम्मा आफ्नो पार्टीले लिने बताउँदै लामिछानेले अन्य दललाई प्रतिपक्षमा बसेर खबरदारी गर्न आग्रह गर्नुभयो । उहाँले आफूलाई सांसदबाट निकाल्ने योजनाकार दाङमै रहेको र यस पटक पनि चुनाव लडेको बताउनुभयो । दुई–दुई पटक जनताको अमूल्य मतले निर्वाचित हुँदा पनि आफूलाई षड्यन्त्र गरी संसद्बाट निकाल्ने काम गरिएको भन्दै उहाँले भन्नुभयो, “संसद्बाट निकाल्यौ, अब सक्छौ भने जनताको मनबाट पनि निकालेर देखाऊ ?”
दाङ थारू बाहुल्य सभ्यताको केन्द्र भएको बताउँदै लामिछानेले थारू जाति मात्र नभएर सभ्यता भएको उल्लेख गर्नुभयो । ठूला राजनीतिक दलले ३५ वर्षसम्म थारू समुदायलाई ‘भोट बैंक’ बनाएर जहाँ भन्यो त्यहीँ भोट हाल्न लगाए पनि उनीहरूको हकहितका लागि केही नगरेकाले मत परिवर्तन गर्न उहाँले आग्रह गर्नुभयो । अन्य पार्टीजस्तै थारू, किसान, महिला, विद्यार्थी र युवाका भ्रातृ सङ्गठन आफ्नो पार्टीले नबनाउने भन्दै उहाँले शिक्षकले पढाउने र कर्मचारीले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा राजनीति गर्ने विद्यार्थी सङ्गठन हामी बनाउँदैनौँ । किसान, व्यवसायी र थारूलगायत विभिन्न क्षेत्रको हकहितका नाममा राजनीति गर्ने सङ्गठन पनि बनाउँदैनौँ ।”
'झण्डा जलाउने नीति छैन'
सभापति लामिछानेले आफ्नो पार्टीले कुनै दलको झण्डा जलाउनेलगायतका अराजक गतिविधि गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो । कसैले जलाएको भए कारबाही हुने भन्दै उहाँले भन्नुभयो, “कसैको झण्डा जलाउने पार्टीको नीति छैन । कसैले जलाएको भए कारबाही गर्छौँ । तर आफैँ घुसपैठ गरेर काँक्रा खाएर बियाँ टाँस्ने प्रवृत्ति पनि रहेकाले यसप्रति सतर्क रहनुपर्छ ।”
सभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं दाङ क्षेत्र नं २ का उम्मेदवार विपिनकुमार आचार्य, दाङ क्षेत्र नं १ का उम्मेदवार देवराज पाठक, दाङ क्षेत्र नं ३ का उम्मेदवार कमल सुवेदी, रोल्पाका उम्मेदवार बलराम थापा र प्युठानका उम्मेदवार सुशन वैदिकलगायतले सम्बोधन गर्नुभएको थियो ।