• ८ फागुन २०८२, शुक्रबार

स्याङ्जा–१ मा चुनावी सङ्कल्प : उत्पादनदेखि सुशासनसम्म

blog

अर्जुन काफ्ले

स्याङ्जा, फागुन ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले १० बुँदे सङ्कल्प सार्वजनिक गर्नुभएको छ ।

निर्वाचनलाई लक्षित गरी यस क्षेत्रका १२ उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त रहँदा ढकालले आफ्ना योजनासहितको सङ्कल्प लिएर मैदानमा उत्रिनुभएको हो । उम्मेदवार ढकालले सङ्कल्पमा स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम, कला–पर्यटन, कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई समावेश गर्नुभएको छ ।

उहाँले यी सङ्कल्पलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समयमा सम्पन्न गर्ने कामको सूचीमा राखेर प्रचारप्रसारलाई तीव्रता दिनुभएको छ । मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्षसमेत रहनुभएका ढकालले नागरिकको स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषिसहितका गौरवका आयोजना सञ्चालन गर्ने परिकल्पना गर्नुभएको छ ।

उहाँले ‘एक वडा, एक उत्पादन’ प्रणालीको विकासमार्फत उद्यमशीलता र आयआर्जन वृद्धि गर्दै जाने सङ्कल्प गर्नुभएको छ । अनिवार्य, व्यावहारिक, बजार उपयोगी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

त्यसैगरी स्वास्थ्य बिमाको दायरा वृद्धि गर्दै सर्वसुलभ, गुणस्तरीय र अनिवार्य स्वास्थ्य सेवाको सङ्कल्प गरिएको प्रचार विभाग सचिवालय प्रमुख ध्रुव खाँणले जानकारी दिनुभयो । ढकालले सबै नागरिकको पहुँचमा स्वच्छ खानेपानी, नवीकरणीय ऊर्जा, सडक सञ्जाल, इन्टरनेट र खेलकुद पूर्वाधारलाई जोड दिनुभएको छ । प्रविधिको पहुँच, प्रतिस्पर्धी क्षमता र संस्थागत संरचनाको विकासमार्फत युवा उद्यमशीलता प्रवर्द्धनलाई उहाँले प्राथमिकता दिनुभएको छ ।

स्थानीय कला, संस्कृति, सम्पदा, जैविक विविधता र प्राङ्गारिक उत्पादनको संरक्षणमार्फत पर्यटन क्षेत्रको विकास गर्ने उहाँको योजना छ । ढकालले महिला, वृद्धवृद्धा, पिछडिएका वर्ग, गरिब तथा विपन्न समुदाय लक्षित कार्यक्रम र राहत कोषको व्यवस्था गर्ने सङ्कल्प गर्नुभएको छ ।

बाँदरलगायत वन्यजन्तु तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणका लागि कार्यक्रम र जोखिम कोष स्थापना गर्ने प्रतिबद्धता उहाँको छ । तीनै तहका सरकार र गैरसरकारी निकायको समन्वयमा आधारभूत सेवा, कार्यक्रम र सार्वजनिक सुनुवाइमार्फत सुशासन सुनिश्चित गर्ने ढकालले बताउनुभएको छ ।