काठमाडौँ, फागुन ८ गते । नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत १२ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी पुरस्कारका राशि जनही पचास–पचास हजार रुपियाँ रहेका छन् ।
‘नइ प्रज्ञा पुरस्कार’बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जङ्गब चौहान, प्रा.डा.भरतकुमार भट्टराई, प्रा.डा.महादेव अवस्थी, डा.रजनी काफ्ले ढकाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, डा.साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाहीलाई विभूषित गरिने भएको जानकारी नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाई बताउनुभयो ।
उहाँका अनुसार नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नइ एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो ।
२०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिने भएको छ ।