• २६ चैत २०८२, बिहिबार

जनकपुरधाममा मधेश केन्द्रित उद्यमशीलता सीप विकास कार्यक्रम सुरु

blog

जनकपुरधाममा मधेश प्रदेशस्तरीय उद्यमशीलता विकास तालिमका सहभागीहरु । तस्बिरः इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई)

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत २६ गते । मधेश प्रदेशका उद्यमीहरूलाई लक्षित गर्दै उद्यमशीलता सीप विकास कार्यक्रम जनकपुरधाममा औपचारिक रूपमा सुरु भएको छ ।  

नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ (एमचेम नेपाल) र ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको सहकार्यमा उद्यमशीलतामा पहुँच विस्तार गर्न प्रदेशका नवप्रवर्तन प्रणालीलाई सुदृढ बनाउने लक्ष्यसहित जनकपुरधाममा बिहीबारदेखि दुई दिने मधेश प्रदेशस्तरीय उद्यमशीलता सीप विकास कार्यक्रममा सञ्चालन गरिएको हो । 

कार्यक्रममा मधेशका विभिन्न जिल्लाका करिब ३० जना उद्यमीहरु सहभागी भएका छन् ।

कार्यक्रमले उद्यमीहरूलाई दिगो व्यवसाय निर्माण, लगानी आकर्षण, निर्यात प्रवद्र्धन तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत व्यवसाय विस्तार गर्न आवश्यक व्यवहारिक सीप प्रदान गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको हो । साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न आवश्यक ज्ञान र दक्षता विकासमा समेत जोड दिइएको छ ।

तालिम कार्यक्रमअन्तर्गत व्यवसायका आधारभूत पक्ष, बजार परीक्षण, लगानीकर्तासँग प्रभावकारी संवाद, डिजिटल मार्केटिङ तथा निर्यात तयारीजस्ता विषयहरू समेटिएका छन् । यसले उद्यमीहरूलाई आफ्ना नयाँ सोचलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्न र रोजगारी सिर्जनामा योगदान पुर्‍याउन सहयोग गर्ने विश्वास गरिएको छ ।

दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करका अनुसार आर्थिक वृद्धि र नवप्रवर्तनका लागि उद्यमशीलता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यक्रमले नेपाली उद्यमीहरूलाई बजारअनुसार विस्तारयोग्य व्यवसाय निर्माणमा सहयोग पुर्‍याउनेछ । साथै, यसले नेपाल र अमेरिका बीच व्यापार तथा वाणिज्य सहकार्यका नयाँ अवसरहरू पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रदेशस्तरीय उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सुरु भई सूदुरपश्चिमको धनगढी, कोशी प्रदेशको विराटनगर र मधेशको जनकपुरधाम हुँदै आगामी दिनमा बागमतिको हेटौँडा, भैरहवा र गण्डकीको पोखरामा सञ्चालन गरिनेछ कार्यक्रम सञ्चालक संस्था इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटका निर्देशक  रोशन घिमिरेले बताउनुभयो ।  

उहाँले सातै प्रदेशका करिब २०० उद्यमीहरू प्रत्यक्ष कार्यशाला र भर्चुअल प्रशिक्षणमा सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“यस कार्यक्रम अन्तर्गगत विगत सञ्चलित उद्यमीहरुलाई क्षमता विकासका लागि ल्याइएको कार्यक्रम हो । यसले उद्यमलाई देशमा मात्र नभई विदेशमा समेत विस्तार गर्न मदत पुग्नेछ । ”

अमेरिका–नेपाल वाणिज्य कूटनीति शृङ्खलाअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमले उद्यमीहरूलाई सल्लाहदाता, लगानीकर्ता तथा उद्योग विज्ञहरूसँग जोड्ने अवसर समेत प्रदान गर्नेछ ।नेपालस्थित अमेरिकी दूतावासको आयोजना तथा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीद्वारा उक्त उद्यमशीलता कार्यक्रममा सञ्चालन गरिएको हो ।