• २६ चैत २०८२, बिहिबार

बुढीगण्डकी जलविद्युत् आयोजनामा सभामुखको चासो : ऊर्जामन्त्री श्रेष्ठसँग भेट

blog

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गर्नुहुँदै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौँ, चैत २६ गते । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवर्द्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्त्वको विषय हो । अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।”

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराउनुभयो । स्पष्ट कार्यतालिका बनाएर कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्न उहाँले निर्देशन दिनुभयो ।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारी तहमा समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ ।”

त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले आयोजना अघि बढाउन मन्त्रालयबाट पूर्ण सहयोग रहने बताउनुभयो । सांसद बोधनारायण श्रेष्ठले ठुला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।

बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार दुई सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना हो । गोरखा र धादिङको सिमानामा पर्ने यस आयोजनाको अनुमानित लागत तीन खर्ब ७४ अर्ब रुपैयाँबराबर छ ।