• १८ असार २०८१, मङ्गलबार

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

blog

काठमाडौं, साउन २ गते । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने  जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिण क्षेत्र अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । गत वर्षमाभन्दा यस वर्ष काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको छ ।

उहाँका अनुसार मङ्गलबारदेखि उक्त रेखामाथि अर्थात् नेपालतिर सर्ने भएकाले विस्तारै पानी पर्नेक्रम सुरु भई गर्मी कम हुने अवस्था छ । विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा  र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।