• ५ फागुन २०८२, मङ्गलबार

द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह

blog

आफ्ना धारणा राख्नुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्री । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन ५ गते । बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचनको आचारसंहिताविरुद्ध कसैले द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ ।

इन्सेक लुम्बिनी प्रदेशले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको “निर्वाचन आचारसंहिता कानुनी व्यवस्था र व्यावहारिक अभ्यास” विषयक अन्तरक्रिया कार्यक्रममा आचारसंहिता अनुगमन अधिकृत खत्रीले भन्नुभयो, “बाँकेमा फागुन ४ गतेसम्मको अवस्था हेर्दा र समीक्षा गर्दा आचारसंहिता पालना सन्तोषजनक नै देखिएको छ । केही उम्मेदवारले अन्य उम्मेदवारप्रति द्वेषपूर्ण अभिव्यक्ति दिएको र ती अभिव्यक्तिलाई मिडियाहरूले प्रसारण गरेको पाइएको छ, उम्मेदवारहरू मात्र नभएर हरेक व्यक्तिले आचार संहिताविरुद्ध हुनेगरी अभिव्यक्ति नदिनुहोला ।”

उहाँले अनुगमन अधिकृतलाई आचारसंहिता उल्लङ्घन गर्ने र पालना नगर्नेलाई निर्वाचन आयोगले जरिवाना गराउन सक्ने र कारबाहीसम्म गर्न सक्ने अधिकार दिएको बताउँदै पहिलो पटक सम्झाउने, बुझाउने, विभिन्न सामाजिक सञ्जालमार्फत गरिएका द्वेषपूर्ण अभिव्यक्तिलाई हटाउन लगाउने गरिरहेको र पटक–पटक त्यस प्रकारका घटना दोहोरिएको पाइएमा कानुनी दायरामा ल्याइने उल्लेख गर्नुभयो ।

उहाँले विगत वर्षहरूभन्दा यसवर्ष आयोगले नै उम्मेदवारको प्रचार–प्रसार खर्चमा न्यून खर्च गर्न पाउने व्यवस्था गरेका कारण केही आर्थिक अनुशासन देखिएको उल्लेख गर्दै हरेक उम्मेदवार आर्थिक अनुशासन पालना गर्दै पारदर्शीता देखाउनुपर्नेमा जोड दिनुभयो ।

अनुगमन अधिकृत खत्रीले बाँकेका केही छापाखानाले आचारसंहिता विपरीत टोपी, झण्डा, टिसर्ट लगायतका निर्वाचन सामग्रीहरू छापिरहेको भन्ने सूचना आएको पनि जानकारी दिनुभयो । “जिल्लाका केही छापाखानाहरूले आचारसंहिता विपरीत उम्मेदवारका निर्वाचन सामग्रीहरू छापेको भन्ने सूचना प्राप्त भएको छ, उनीहरूलाई एकपटकलाई सम्झाएका छौँ, फेरि पनि दोहोरिएमा प्रहरीलाई स्पष्टसँग छापा हान्न र कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ ।”

निर्वाचनलाई मध्यनजर गरी जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गराउन र निर्वाचनलाई प्रतिकूल असर पार्ने गरी हुने क्रियाकलापलाई निस्तेज पार्नका लागि थप सुरक्षाकर्मीसहित आवश्यक सुरक्षा व्यवस्थाको बन्दोबस्त गरिएको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले पर्यवेक्षक, सञ्चार क्षेत्र, राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई आचारसंहिता विपरीतका गतिविधिहरू नगर्न आग्रह गर्नुभयो । 

उहाँले जिल्लामा मतदाता शिक्षा अभियान पनि सञ्चालन भइसकेको जानकारी दिँदै आम जनतासम्म सकारात्मक सन्देश फैलाउन मिडियाको प्रमुख भूमिका हुने हुँदा मिडियालाई संयमित भएर निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले आचारसंहिता पालना गरे–नगरेको अवस्था तथा पालना गरे के हुने र नगरे के हुने भन्ने विषयमा स्पष्ट हुन जरुरी रहेका कारण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण नागरिकलगायतका सरोकारवाला पक्षले आचारसंहिताका बारेमा जानकारी पाउनुपर्ने बताउँदै सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले आचारसंहिताको कार्यान्वयनको अवस्थाका बारेमा पनि जनतालाई सुसूचित बनाउँदै अनुगमन तथा कारबाहीको दायरामा ल्याउन सरोकारवालालाई आग्रह गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले सबै सरोकारवालाले आचारसंंहिता अध्ययन गरेर पूर्णरूपमा पालना गरे उल्लङ्घनका घटनाहरू नहुने भन्दै हरेक व्यक्तिले आफ्ना विचार धारणा राख्न पाउने तर विचारलाई दूरुपयोग गर्न नपाइने भन्दै कसैको पनि गोपनीयतालाई भङ्ग हुने खालका कार्यहरू हुन नहुने बताउनुभयो । 

उहाँले आयोगले देशभरमा अनुगमन कार्य सुरु गरिसकेको तथा जिल्लागत रिपोर्टहरू केन्द्रमा पठाउने कार्य गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरी, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, अधिवक्ता वसन्त गौतम, भीमबहादुर शाही, अधिकारकर्मीहरू प्रभातसिंह ठकुरी, प्रकाश उपाध्याय, मैमुना सिद्धिकी, रवीन्द्र कर्ण, वविता सिंह लगायतले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, भयरहित स्वच्छ वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।