• ५ फागुन २०८२, मङ्गलबार

वित्तीय शोषणविरुद्ध एक्ली महिला उम्मेदवार

blog

आमजनता पार्टीका उम्मेदवार प्रेमा दमाईंनेपाली ।

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, फागुन ५ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ निवासी ४४ वर्षीय प्रेमा दमाईंनेपाली फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाको एक मात्र महिला उम्मेदवार हुनुहुन्छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध सङ्घर्षरत प्रेमा आमजनता पार्टीबाट मोबाइल चिह्न लिएर चुनावी मैदानमा होमिनुभएको छ । 

गाउँमा लघुवित्तले गरेको ज्यादती तथा चर्को ब्याजदरविरुद्ध लड्दालड्दै उनीहरूको न्यायका लागि चुनावी मैदानमा होमिनु परेको उहाँले जनाउनुभयो । उहाँले जिल्लाबाट काठमाडौँसम्म पुगेर पीडितको न्यायका लागि लडिरहेको र न्याय दिलाउन पीडितकै साथ खोजिरहेको बताउनुभयो । आफ्नो उम्मेदवारीबारे प्रेमाले भन्नुभयो, “लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समितिमा रहेर सक्रिय भइरहेका बेला देशभर जेनजी आन्दोलन भयो । आन्दोलनबाट नयाँ सरकार बन्यो । हामीले वर्तमान प्रधानमन्त्रीलाई भेट्न गयौँ, चुनाव जितेर पीडितका माग संसद्मा पु¥याउनुपर्ने र समाधान गर्नुपर्ने अवस्था आयो । हामीले पनि पीडितको आवाज एकीकृत गर्न चुनावमा आयौँ ।” यसका साथै पुरुषसमेत लघुवित्त तथा सहकारीबाट पीडित रहेको उहाँको भनाइ छ ।  

प्रेमा अहिले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समितिका जिल्ला सचिव हुनुहुन्छ । यसअघि वित्तीय संस्थाले गरेको शोषणबारे विभिन्न राजनीतिक दललाई सुनाउन बेवास्ता गरेको उहाँले सुनाउनुभयो । अन्यायमा परेकालाई न्याय, जेनजी आन्दोलनको मर्म, सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाको राष्ट्रियकरण, लघुवित्त, सहकारी, बैङ्क तथा वित्तीय संस्थाद्वारा लगाइएको अन्यायपूर्ण सामूहिक ऋणको मिनाहको मुद्दा लिएर आफू चुनावमा गएको उहाँले बताउनुभयो । नेता बनेर उदाउनेभन्दा पनि चरम आर्थिक अवस्थामा दैनिकी धकेलिरहेका, वित्तीय संस्थाको चर्को ऋणको तनाव झेलिरहेका आमसर्वसाधारणलाई डिप्रेसन तथा मृत्युको मुखबाट जोगाउन चुनावी मैदानमा आउनु परेको उहाँले उल्लेख गर्नुभयो । 

यसका साथै सामूहिक कर्जा प्रणालीको अन्त्य गर्न, आमगरिब किसान र मजदुरको ब्याज छुटसहितको ऋण प्रदान गर्न, मिटरब्याजी तमसुक रद्द गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न, गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा निःशुल्क गर्न आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । गाउँ गाउँमा मत माग्दै हिँडेकी प्रेमाले सङ्घर्ष समितिले गरेको आन्दोलनको प्रभाव गाउँमा र बैङ्कमा देखिन थालेको बताउनुभयो । उहाँले आन्दोलनकै कारण बैङ्कले लिने गरेको ब्याजदर घटेको, सेवा शुल्क कम गरेको र दिनहुँ लघुवित्तका कर्मचारीले दिने तनाव कम भएको बताउनुभयो ।