• ५ फागुन २०८२, मङ्गलबार

मतदाताका गुनासा सुन्दै, आफ्ना योजना सुनाउँदै उम्मेदवार

blog

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नं. ५ का मतदाताका घरदैलोमा पुगेर गुनासो सुन्दै एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली (बायाँ) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (दायाँ) ।

दमक समाचारदाता

दमक, फागुन ५ गते  । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नं. ५ का उम्मेदवार मतदाताका घरदैलोमा पुगेर प्रत्यक्ष गुनासो सुन्ने र आफ्ना योजना सुनाउनमा व्यस्त छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले दमकका विभिन्न स्थानमा पुगेर मतदाताको गुनासो सुन्ने र आफ्ना योजना राख्नमा व्यस्त हुनुभएको हो । 

सोमबार पूर्वप्रधानमन्त्री ओली दमकका मुख्य बजार तथा भित्री चोकमा पुगेर मतदाताका गुनासा सुन्दै आफ्ना भावी योजना बताउँदै हिँड्नुभएको उहाँको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचारप्रसार समितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिनुभयो । सो अवसरमा पूर्वप्रधानमन्त्री ओलीले यस क्षेत्रका कतिपय विकासका योजनाका बजेट अहिले कटौती परेर अलपत्र परेको उल्लेख गर्दै ती अधुरा विकासनिर्माण पूरा गर्न मुलुकलाई नै विकसिल बनाउने आफूहरूको योजना रहेको बताउनुभयो । जनताका आवश्यकता र अपेक्षासँग जोडिएका विकासका मुद्दा गाउँ गाउँसम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पनि सोमबार बिहानैदेखि घरदैलोमा पुगेर मतदाताका कुरा सुन्न थाल्नुभएको छ । शाह अहिले युवापुस्ताभन्दा पनि पाका मतदातासामु पुगेर उनीहरूका गुनासा सुन्ने र आफ्ना भनाइ राख्ने गर्नुभएको छ । 

स्थानीयले उम्मेदवार शाहसँग धनीपुर्जालगायतका समस्या राखेको रास्वपाका स्थानीय नेता भेषराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार शाह यो पटक घर घरमा पुगेर सबै उमेर समूहका मतदातालाई भेट्दै हुनुहुन्छ । सो क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ मन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ, राप्रपाका लक्ष्मी सङ्ग्रौलालगायतका उम्मेदवार पनि घरदैलोमा रहनुभएको छ । 

उम्मेदवार बिहानैदेखि घरदैलोमा 

यसैबीच इनरुवा समाचारदाताका अनुसार सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवारले सोमबार बिहानैदेखि प्रचारप्रसारमा घरदैलो थालेका छन् । सोमबारदेखि उम्मेदवारले प्रचारप्रसार गर्न पाउने भएपछि उनीहरू औपचारिक रूपमा मत माग्दै घरदैलोमा पुग्न थालेका हुन् । 

सोही व्रmममा नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले बिहान ७ः३० बजेदेखि नै इनरुवा–५, बलाहाका मतदाताका घरदौलोमा पुग्न सुरु गर्नुभएको हो । कोइरालाले मतदातालाई आफ्नो मतको सदुपयोग गर्न  र आफूलाई मतदान गर्न आग्रह गर्नुभएको हो । उहाँले सोमबार सुरु भएको अभियानमा आगामी १९ गतेसम्म सबै वडा र टोलमा पुग्ने बताउनुभयो । 

त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमारी चौधरीले इटहरीमा आफ्नो पहिलो घरदैलौ सुरु गर्नुभएको छ । राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार सन्तोष मेहताले इनरुवा–१ बाट आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो सुरु गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले इनरुवा–९, बबियाबाट घरदैलौ सुरु गर्नुभएको छ ।