गोकर्ण दयाल
बैतडी, फागुन ५ गते । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले मत माग्न चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
नेकपा एमाले बैतडीका सस्थापक र तत्कालीन जिल्ला विकास समितिका सभापतिसमेत रहनु भएका उम्मेदवार भट्ट एमालेबाट विभाजित भएको समाजवादी पार्टी हुँदै हाल एकीकरण भएको नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार हुुनुहुन्छ ।
चार पेज लामो प्रतिबद्धता पत्रमा उहाँले जिल्लाका मुख्य छ वटा भेगमा सुविधा सम्पन्न अस्ताल, गुणस्तरीय शिक्षा, कालोपत्रे सडक, कृषि होमस्टे, रोजगारी, जडीबुटी उद्योग, धार्मिक पर्यटन, उद्यमशीलता र वन्यजन्तु नियन्त्रण गर्ने मुख्य प्रतिबद्धता रहेका छन् ।
सोमबार जिल्ला सदरमुकाम गोठालापानीमा पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता सार्वजनिक गर्नुहुँदै उम्मेदवार भट्टले सुशासनका लागि श्रोतको न्यायोचित वितरण, रोजगारीका लागि उद्यशीलता, बसाइँसराई रोक्न गुणस्तरीय शिक्षा र जिल्लामा छ ठाउँमा सुविधा सम्पन्न अस्पताल बनाउने बताउनुभयो ।
तत्कालीन जिल्ला विकास समिति बैतडीका पूर्वसभापतिसमेत रहनु भएका भट्टले आफ्नै पालामा सुरु गरेको च्वाँगढ क्षेत्रको बिप्याकटाल–ढुङ्गाढ सडक, दुदिलाखान–गाँजरी–थलाकाँडा सडक, श्रीभावर–बचपानी–शिवलिङ सडक कालोपत्रे गर्ने योजना रहेको सार्वजनिक गर्नुभयो ।
त्यसैगरी, दोगडाकेदार क्षेत्रको खोचलेक–रिम सडक, सदरमुकामदेखि तल्लोस्वराड जोड्ने देहिमाण्डौं– गिरेगाडा, देहिमाण्डौं–सलेना सडक र बैतडी–दार्चुला र बझाङ जोड्ने सतबाँझ–श्रीभावर सडकलाई महाकाली करीडोरसँग जोड्ने सार्वजनिक गर्नुभयो ।
उहाँले धार्मिक पर्यटन क्षेत्रमा विगतमा काम गरेको अनुभव सुनाउँनु हुँदै पातालभूमेश्वर क्षेत्रमा गुरुयोजना अनुसार काम भएपछि अहिले भारतीय पर्यटक आउन सुरु गरेको बताउनुभयो । बैतडीजासीले अमूल्य मत दिएर जिताएमा आफूले ग्वाल्लेक संरक्षित क्षेत्र र सिगास संरक्षित क्षेत्रमा रहेका जडीबुटी र वनपैदावरमा आधारित उद्योग स्थावना गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
बाँदरका कारण पछिल्लो समय गाउँका किसान विस्तापित हुँन थालेको बताउँदै उहाँले कृषिमा विविधता ल्याएर टिमुरखेती, बेसार, अदुवा र अमिलो जातको फलफुुल खेतीलाई प्राथमिकता दिने बताउनुभयो । प्राकृतिक विपदका हिसाबले जोखिममा परेका ढुङ्गाड क्षेत्र, ढिक, सलेना र गोकुलेश्वरको पहिरो रोकथाम र भू–क्षय रोक्ने योजना अघि सार्नुभयो ।
त्यसैगरी, उहाँले जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको दरबन्दी स्वीकृत गरेर दक्ष जनशक्तिसहित सुविधा सम्पन्न स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धतासमेत सार्वजनिक गर्नुभयो । उहाँले रोजगारीका लागि युवाहरु भौतारिनु पर्ने अवस्था रहेकाले बैतडीमै रोजगारी सिर्जना गर्न फस्फोराईट खानी, फलामखानी र चुनढुङ्गा उत्खनन र अन्वेषणको काम अघि बढाउने बताउनुभयो ।
उहाँको प्रतिबद्धता पत्रमा सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफुल विकास केन्द्रलाई कृषि होमस्टेमा रुपान्तरण गरेर कृषि पर्यटकसमेत भित्र्याउने बताउनुभयो ।