• ५ फागुन २०८२, मङ्गलबार

जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

blog

काभ्रेपलाञ्चोक, फागुन ५  गते । c भीमसेन प्राथमिक विद्यालयको नवनिर्मित एकतले तीनकोठे पक्की भवनको गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

जर्मनीको ओच्सेहौसेन ग्याम्नासुम हाइस्कुलका करिब ७०० विद्यार्थीबाट उपलब्ध रु ३१ लाख ७७ हजार ३०० सहयोगले उक्त भवन निर्माण भएको हो । विद्यार्थीले प्राचार्य इल्की रेमार्फत हिमालयन परियोजनामा दिइएको उक्त रकमले विद्यालय भवन निर्माण गर्न सकिएको हुसेनले बताउनुभयो । विद्यालय भवन निर्माणका लागि हिमाली गाउँ संरक्षण नेपालले परियोजनासँग समन्वय गरेको थियो ।

स्थानीय टङ्कबहादुर राउत र दमाइसिं तामाङले दान गर्नुभएको जग्गामा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक मनिका राउतले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा उक्त परियोजनाले विद्यालयलाई एक थान ल्यापटप कम्प्युटर सहयोग गरेको छ । सो अवसरमा अध्यक्ष लामाले नवनिर्मित भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको र विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर लामा, वडा नं ५ का अध्यक्ष निरध्वज लामा, वडा नं ३ का अध्यक्ष धनजित लामा, स्थानीय समाजसेवी टुल्कु लामालगायतले विद्यालयमा थप शैक्षिक गुणस्तरका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा जग्गादाता राउत र तामाङलाई सम्मान गरिएको थियो ।  रासस