काठमाडौँ, फागुन ४ गते । दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई )लाई हराएपछि दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाएको हो ।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा अफगानिस्तानले युएईलाई पाँच विकेटले हरायो । जितका लागि युएईले दिएको एक सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो ।
यस समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको चार अङ्क छ । अफगानिस्तान र युएईले दुई दुई अङ्क बनाएको छ । दुई खेलमा अङ्कबिहीन क्यानडा अन्तिममा छ ।