राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) फागनु ४ गते । चुनाव नजिकिएसँगै स्याङ्जा प्रहरीले सक्रियता बढाएको छ ।
प्रहरीले विभिन्न मुद्दामा फरार रहेकालाई पक्राउ गर्ने, लुकाएर राखेका हतियार बरामद, सवारी साधन चेकजाँच लगायतका क्रियाकलापमा तिव्रता दिएको हो ।
प्रहरीले माघ महिनामा मात्रै १७ वटा मुद्दा दर्ता गरेको छ । जसमा जघन्य तथा गम्भीर अपराधमा ११, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धमा ३ र अन्य ३ गरी १७ मुद्दा दर्ता भएका हुन् ।
यि मुद्दामा संलग्न २३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी कार्यालयमा माघ महिनामा परेको ठाडो उजुरी ३५ मध्ये सबैको फर्छ्याैट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
यो अवधीमा लागु औषध मुद्दामा पाँच जना पक्राउ परेका छन् । माघ महिनामा मात्रै ९७३ सवारी साधन कारबाहीमा पर्दा प्रहरीले आठ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै प्रहरीले चार थान एक नाले भरुवा बन्दुक, बारुद, छर्रा बरामद गरेको छ । यस्तै प्राकृतिक दोहन गर्ने चार सवारी कारबाही गर्दा ४६ हजार जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले समुदाय तथा विद्यालयस्तरमा पुगेर विभिन्न समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।जसमा साइबर अपराध, बालविवाह, अभद्र व्यवहार, जुवातास, सडक सुरक्षा, जातीय भेदभाव, महिला हिंसा, चोरी न्यूनीकरण, लैङ्गिंक हिंसा, बाल यौन दुर्व्यवहार, घरेलु हिंसा, ज्येष्ठ नागरिक सचेतना, मानव बेचबिखन, जबरजस्तीकरणी लगायत रहेका छन् ।