विष्णुप्रसाद पोखरेल
दमक, फागुन ४ गते । झापामा भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने कार्यमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्ने क्रममा २२ वर्षीय सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा ९ एमएमको पेस्तोल एक थान, म्याग्जिन एक थान र ४० राउन्ड गोली बरामद गरेको प्रहरीको भनाइ छ ।
उक्त हतियारबारे अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार हतियार भेटिएको र फरार मगरलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार कन्काई–८ का ३२ वर्षीय सूर्य राजवंशीले आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट हतियार लुटेर सौगातलाई दिएको खुलेको छ ।
उक्त कार्यमा संलग्न रहेका राजवंशीलाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको खड्काले बताउनुभयो । पक्राउ परेकाहरूलाई हतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको प्रहरीको भनाइ छ ।