• ४ फागुन २०८२, सोमबार

जनकपुरधाममा भोलिदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

blog

महोत्सव आयोजक संस्था मैथिलि विकास कोषको भवन । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ४ गते ।
भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार ) देखि चारदिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुँदैछ । मैथिली विकास कोषको आयोजनामा यहि फागुन  ५ देखि ८ गतेसम्म महोत्सवको पाँचौँ श्रृंखला सञ्चालन हुन लागेको हो ।

कोषका अनुसार महोत्सवमा बौद्धिक विमर्श, नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिने जानकारी दिएको छ । 
कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवमा करिब २० विषयमा गहन विमर्श हुने जानकारी दिनुभयो । उहाँले कला–साहित्यसँगै राजनीति, सामाजिक सरोकार र इतिहासलगायतका विषयमा छलफल हुनुका साथै चित्रकला, पुस्तक तथा मिथिला भोजन प्रदर्शनीसमेत आयोजना गरिनेछ बताउनुभयो ।

महोत्सवमा नेपाल र भारतका विद्वान–विदुषी, कलाकार तथा नाट्य समूहहरूको सहभागिता रहने उल्लेख गर्दै उहाँले चार दिनसम्म जनकपुरधाम साहित्य, कला र सङ्गीतले झङ्कृत हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

महोत्सवका मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा, उद्घाटन समारोह, विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन, लोकनृत्य तथा मिथिला चित्रकला प्रतियोगिता रहेका छन् । महोत्सव अवधिभर मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी समेत सञ्चालन गरिनेछ कोषले जाएको छ ।

यसैगरी, ‘छुतहा घेल’, ‘कथा नइ भेटल’, ‘जटजटिन’, ‘देसिल  वयना’ र ‘बहुरुपिया’ लगायतका नाटक मञ्चन गरिनेछ । यस्तै भारतको पटनास्थित चेतना समितिद्वारा ‘देसिल बयना’ नाटक प्रस्तुत गरिने कार्यक्रम रहेको छ भने नेपाल र भारतका विशिष्ट रंगकर्मी, गायक–गायिका तथा नाट्य समूहहरूको सांस्कृतिक प्रस्तुति पनि रहने कोषले जनाएको छ ।

यस्तै महोत्सवमा फागुन ७ र ८ गते पुस्तक चर्चा, दलित विमर्श, “भाषास् हिमालयसँ गंगा धरि”, “नेपालीय मैथिली साहित्यक प्रवृत्ति”, “जनकपुर गाथा”, “सुगम प्रदेशमे दुर्लभ शिक्षा”, “जल सभ्यता”, “अर्थः लेवर सोल्जर” लगायतका विषयमा विमर्श आयोजना गरिनेछ । साथै कवि गोष्ठी, विद्यालयस्तरीय कवि गोष्ठी, समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमसमेत गरिने जनाइएको छ ।

वि.सं. २०५८ सालमा स्थापना भएको मैथिली विकास कोषले प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरको महोत्सव आयोजना गर्ने प्रतिबद्धताअनुसार यसअघि २०७३, २०७५, २०७८ र २०८० मा चार वटा श्रृंखला सफलतापूर्वक सम्पन्न गरिसकेको छ । महोत्सव शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा सञ्चान हुने जनाइएको छ ।