नेत्र शाही
जुम्ला, फागुन ४ गते । जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जनामध्य छ सय ४८ जना सोमबार मतदान केन्द्रमा कर्मचारी खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस आनन्दराज पन्तका अनुसार १०८ वटा मतदान केन्द्रमा १०८ जना मतदान अधिकृत, १०८ जना सहायक मतदान अधिकृत, १०८ जना सहयोगी र तिनसय २४ जना कर्मचारी खटिएका छन् ।
उहाँले जम्मा एक सय १० मतदान केन्द्रमा १०८ केन्द्रमा आज कर्मचारी खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक र पारदर्शी तरिकाले कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी खटिन बाँकी रहेको छ ।
११८ महिला कर्मचारी
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार मतदान केन्द्रमा एक सय १८ जना ( १८.२०) प्रतिशत) महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत पन्तले मतदान केन्द्रमा यसपटक सात जना मतदान अधिकृत, २६ जना सहायक मतदान अधिकृतसहित एक सय १८ जना महिला कर्मचारी खटाइएको जानकारी दिनुभयो ।
यसैगरी, जिल्लाको एउटा मतदान केन्द्र चन्दननाथ माध्यामिक विद्यालय रहेको केन्द्रमा पूरै महिला कर्मचारीको टिम खटाइएको छ । सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार चन्दननाथ माविको केन्द्रमा मतदान अधिकृत सुर्खेत जुम्ला उच्च अदालतका शाखा अधिकृत शुसिला पाण्डे र सहयोग मतदान अधिकृत डिभिजन वन कार्यालयका बिस्मिता अर्यालको नेतृत्वमा महिला कर्मचारी खटिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय कर्मचारीलाई आफ्नो मतदान केन्द्रभन्दा टाढा खटाइएको छ । कर्मचारीलाई दुर्गम र किलोमिटरको आधारमा सेवा सुविधा दिइनेछ । यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले थप्नुभयो । कर्मचारी खटन पटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले एक हजार चार सय ९९ कर्मचारी छनोट गरी पठाएको थियो । जसमा छ सय ५४ जना खटिने छन् ।